बोरिङ जडान हुन थालिएपछि किसानहरु खुशी

RSS
0
Shares

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा सिँचाई सुविधाका लागि बोरिङ जडानको काम शुरु भएपछि किसानहरु खुशी भएका छन् । जिल्लास्थित भूमि,जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।

वडा नम्वर ६ मा एक साथ १० वटा बोरिङ जडानको काम शुरु भएपछि उनीहरु खुशी भएका हुन् । खेती गर्ने जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ किसान शङ्कर साहले हँसिलो मुद्रामा भने,अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ । यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा
पुर्‍याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आश पलाएको बताए । भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसान उनको गुनासो छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतमा पानी पुर्‍याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?