काठमाडौं- ‘बिकिनी किलर’ का रुपमा परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराज विगत १७ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका छन्।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु’ भन्दै अभिव्यक्ति दिएर चर्चामा आएका शोभराजले कारागारभित्रको पनि कारागार मानिने गोलघरबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएर प्रशासनलाई समेत चुनौति दिएका छन् । उनको अन्तर्वार्ता डेलीमेल र मिरर अनलाइनमा प्रकाशन भएको हो ।
अन्तर्वार्तामा शोभराजले आफू चाँडै रिहा हुन लागेको उल्लेख गरेका छन् । रिहा भैसकेपछि हलिउड फिल्म निर्माण गर्ने उनले बताएका छन् । अन्तर्वार्तामा उनले आफूविरुद्धको सुनुवाइ राष्ट्रसंघको मानवअधिकार उच्चायोगको नीतिविरुद्ध भएको उल्लेख गरेका छन् । उनले गैरन्यायीक हिरासतमा बसेबापत प्रस्ताव गरिएको ७ मिलियन युरो रकमलाई पनि अस्वीकार गरेको बताएका छन् ।
उनले आफ्नो बारेमा एकमहिना भित्र पुस्तक प्रकाशन हुने पनि बताएका छन् । अन्तर्वार्ता प्रकाशन भएपछि उनको चर्चा मात्रै चुलिएको छैन नेपालमा कारागार प्रशासनको सुरक्षा र कार्यशैलीमाथि नै ठूलो प्रश्न उठेको छ ।
के भन्छ प्रशासन ?
नेपालको कानून अनुसार कारागारमा रहेका कैदीले अनुमतिबिना कुनैपनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्दैन । शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति कारागार व्यवस्थापन विभागसँग अनुमति मागेको पाइएको छ । तर कसैलाई पनि अनुमति नदिइएको विभागले जनाएको छ । त्यसो त अनुमतिबिनै शोभराजको अन्तर्वार्ता बाहिरिएपछि विभागले कारागार प्रशासनलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।
अनुसन्धानका लागि जेलर लक्ष्मीप्रसाद बाँस्कोटाको संयोजकत्वमा आन्तरिक समिति गठन गरेको छ । शोभराजले पनि कसैलाई अन्तर्वार्ता नदिएको बयान दिएका छन् ।
जेलमा बसेका व्यक्तिले साताको २ पटक १५–१५ मिनेट फोन सम्पर्क गर्न पाउँछन् । आफूले कुराकानी गर्ने ३ वटा नम्वर प्रशासनलाई उपलब्ध गराउनुपर्छ । जेलर बाँस्कोटाका अनुसार शोभराजले फ्रान्स, अमेरिका र बेलायतमा नियमित फोन सम्पर्क गर्ने गरेका छन् ।
उनले श्रीमती, छोरी तथा साथीभाइका नाममा फोन गर्ने गरेका छन् । फोनमा उनले प्रायजसो अंग्रेजी र फ्रेन्च भाषा प्रयोग गर्ने गर्छन् । यसरी आफन्तहरुसँग गरिएको कुराकानी नै रेकर्ड गरेर सञ्चारमाध्यमलाई बुझाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि शोभराजलाई राखिएको गोलघरको निरीक्षण र सीसीटीभी फुटेज र कल डिटेलको पनि अध्ययन थालिएको छ । शोभराजले फ्रेन्च भाषामा गरेको कुरा अन्यले नबुझ्नु र कारागारमा भाषा अनुवादक नभएकाले शोभराजले यसको फाइदा उठाएको प्रशासनको दाबी छ ।
कारागार प्रशासन स्रोतका अनुसार केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको छ ।
को हुन् चार्ल्स शोभराज ?
अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा उनी २ असोज २०६० मा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेको अभियोगमा उनलाई जिल्ला अदालत, भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा श्रृंखलाबद्ध हत्यामा संलग्न उनी ११ मुलुकका प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ । उनले भारत, अफगानिस्तान, ग्रीस र इरानका जेल तोडेर फरार भएका थिए ।
उनको जीवनीमा आधारित रहेर ‘मे और चालस’ नामक फिल्म तथा द सर्पेन्ट नामक नेटफ्लिक्स सिरिज पनि बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको सवाल उठ्नसाथ शोभराजले दिएको अभिव्यक्तिको चर्चा हुने गरेको छ । उनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘हात्ती पनि छिराइदिन सक्छु’ भनेका थिए । उनले २९ वर्षकी निहीता विश्वाससँग जेलमै विवाह गरेका थिए ।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था आफूमा पनि लागू हुनुपर्ने भन्दै उनले निवेदन पनि दिएका थिए ।
उनले २०७५ सालमा बाँकी कैद सजाय मिनाहा गर्न माग गर्दै सर्वोच्चमा रिट पनि दायर गरेका थिए । तर, अदालतले उनको मागदाबी खारेज गरेको थियो ।
शोभराजको जन्मकैदको सजाय पुरा हुन अझै तीन वर्ष बाँकी छ।
यो पनि
अपराधीसँग किन प्रेममा पर्छन् युवती ? हत्यारालाई प्रेमपत्रदेखि बिकिनी फोटोसम्म !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया