बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट

काठमाडौं । बाँकेमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ को खोदवा गाउँमा हिजो (शनिवार) गोठबाट शुरु भएको आगो बस्तीमा फैलँदा एक सय २० घर गोठ जलेर नष्ट भएका हुन् ।

आगो निभाउने क्रममा केही मान्छे घाइते भएको प्रहरीले जनाएको छ । घाइतेकाे उपचार नेपालगन्जमा भइरहेको छ । आगो गएराति १ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?