कंगोमा विद्रोही हमला : २९ जना गाउँलेको हत्या

काठमाडौं । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको छ । आज (शुक्रवार) युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा सो आक्रमण गरेको हो ।

त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।

ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार त्यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।

त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका त्यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । त्यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?