पर्वत । पर्वतका २ सय ८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २ सय ८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ ।
बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।
जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भने “विहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।
दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताए । उनका अनुसार पालिकाबाट प्रतिविद्यार्थी १५ का दरले रकम आउने गरेको छ । सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेको उनले भने ।
जिल्लाका सात पालिकाका झण्डै २ सय ८८ विद्यालयमा दिवा खाजा शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जनाएको छ । समन्वय एकाइ प्रमुख उद्दिमराज पौडेलका अनुसार यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्या निकै घटेको छ ।
जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया