ओलीले धेरै राम्रो पार्टीलाई गुटमा बदले : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का  अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निलम्बन गरेपछि नेता घनश्याम भुसालले त्यसप्रति कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले ओलीलाई असीमित सत्ताभोगको अतृप्त तृष्णाले आफूबाहेक अरु नदेख्ने भन्दै टिप्पणी गरेका छन् ।

त्यस्तै ओलीले आफू बाहेक अरुलाई कुर्सीमा बस्न नदिने जीवन दर्शन कबुल गरेको र एमाले पार्टीलाई नै गुटमा बदलेको आरोप लगाउँदै त्यहि गुट राज्य दोहनमा लागेको भन्दै आलोचना गरेका छन् ।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’ नेता भुसालले भने ।

ओलीले एमाले पार्टीको हुर्मत लिएको बताउँदै संसारमा उनको शत्रु वा चाकर मात्र भएको बताए ।

‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ ।’ उनले भनेका छन् ।

पार्टीको हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै नेता नेपाल, भीम रावललाई शुक्रवार र नेताहरु सुरेन्द्र पाण्डेलाई आज(बिहीवार) ओलीले ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?