कोरोना भाइरस उत्पत्ति कहाँबाट ?, ‘डब्ल्यूएचओ’को रिपोर्ट सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को उत्पत्तिका बारेमा रिपोर्ट सार्वजनिक गरेको छ । कोभिड-१९ को उत्पत्तिका विषयमा अनुसन्धान गर्न चीन भ्रमण गएको टोलीले कोरोनाको विषयमा महत्वपूर्ण जानकारी भएको रिपोर्ट सार्वजनिक गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनहोम गेब्रेयाससले सो रिपोर्ट निकै राम्रो शुरुवात भएको तर अन्त्य नभएको बताए । उनले भने, हामीले अहिले नै भाइरसको स्रोतको जानकारी पाएका छैनौं ।’

चीनका १७ विशेषज्ञ र १७ अन्तर्राष्ट्रिय विशेषज्ञको समूहको अनुसन्धानपछि सो रिपोर्ट तयार गरिएको हो ।

सो अनुसन्धान समूह जनवरीको अन्त्यमा चीन पुगेको थियो जहाँ १४ दिनसम्म उनीहरुले अस्पताल, बजार र प्रयोगशालाको भ्रमण गरेका थिए । चीनको स्थानीय प्राधिकरणको कडा नियन्त्रणमा र विरोधका बीच टोलीले आधिकारिक डाटा संकलन गरे, अन्य देशको अध्ययनको समीक्षा गरे र दक्षिण चीनको बजारमा आपूर्ति गर्नका लागि खेतबाट लिइएको नमूनाको विश्लेषण गरेका थिए ।

१२० पानाको सो रिपोर्टमा भाइरसको उत्पत्ति र मानिसमा यो कसरी फैलियो भन्ने विषयमा चार सम्भावना समेटिएको छ । त्यहाँ भेटिएको प्रमाणको आधारमा विशेषज्ञले सो निष्कर्ष निकालेका हुन् ।

रिपोर्टमा उल्लेख पहिलो सम्भावना अनुसार मानिससम्म पुगेको कोरोना भाइरसको उत्पत्ति जीव–जन्तुमार्फत् नै भएको हो भन्ने ठोस प्रमाण छ । सो दस्तावेजमा अनुसार चमेरोमार्फत् नै मानिसमा यो भाइरस पुगेको हुनसक्छ भनिएको छ । चमेरो यस्तो जीव हो जसमा थुप्रै भाइरस हुन्छन् । यो मानिसमा सजिलै फैलन सक्छ । रिपोर्टमा पेंगोलिन वा मिंकमार्फत् (एक जनावर)पनि यो भाइरस मानिससम्म पुगेको हुनसक्ने सम्भावना जनइएको छ ।

रिपोर्टमा भएको अर्को सम्भावना अनुसार जुन जीव–जन्तुलाई पहिलो पटक कोरोना भएको थियो, त्यसले मानिसभन्दा अघि अन्य कुनै जनावरलाई संक्रमित गरेको हुनसक्छ । उक्त दोस्रो संक्रमित जनावरबाट पुनः मानिसमा संक्रमण भएको हुनसक्ने जनाइएको छ ।

यो त्यो तथ्यमा आधारित छ जसमा चमेरोमा पाइएको सार्स–कोभिड–टु सँग सम्बन्धित थुप्रै भाइरसबीच केही भिन्नता छन् जसले बीचमा कुनै ‘मुख्य कुरा’ गायब छ भनेर बताउँछ ।

एउटा जनावर हुनसक्छ जुन पहिलो पटक संक्रमित भएको जनावर र मानिस दुबैको सम्पर्कमा आएको हुनसक्ने रिपोर्टमा उल्लेख छ ।

सार्स–कोभिड–टु का लागि अति संवेदनशील जनावरको बढ्दो संख्यामा जंगली जनावरमा पनि समावेश छन् जुन खेतीका लागि पालिन्छन् ।

अनुसन्धानकर्ताका अनुसार यो सम्भावनाले यस्तो गाँठोतर्फ लिएर जान्छ जसलाई फुकाउन मुश्किल छ ।

सो रिपोर्टमा भएको अर्को सम्भावना अनुसार खाद्य सामग्रीमार्फत् मानिसहरुसम्म पुगेको पनि जनाइएको छ । कोभिड–१९ भाइरस खाद्य सामग्री वा ती सामान राख्ने कन्टेनरमार्फत् मानिसहरुमा पुगेको हो । जसमा वुहानको बजारमा बेचिने फ्रोजन फूड समावेश रहेको छ ।

ति खाद्य पदार्थपनि एक सम्भावनाका लागि प्रमाण भएको रिपोर्टमा उल्लेख छ । सार्स कोभिड–टु संक्रमित फ्रोजन उत्पादनमा रहिरहन सक्छ । पछिल्लो समयमा चीनको सरकारी मिडियामा पनि बारम्बार यो कुरामा जोड दिइएको छ । उनीहरुको इशारा विदेशबाट आउने सामान तर्फ भइरहेको छ ।

यद्यपि, डब्ल्यूएचओको दस्तावेज अनुसार सार्स कोभिड–टु भाइरसको खानामार्फत् संचारणको कुनै निर्णायक प्रमाण छैन र भाइरस कोल्ड चेनबाट फैलिएको हुनसक्ने सम्भावना पनि निकै कम भएको जनाइएको छ ।

र चौंथो कारण भाइरस प्रयोगशालाबाट मानिसमा फैलने सम्भावना कम रहेको सो दस्तावेजमा उल्लेख छ । तर प्रयोगशालमा भएको एक दुर्घटनाका कारण यो भाइरस त्यहाँका कर्मचारीमा फैलिएको हुनसक्ने सम्भावना पनि जनाइएको छ ।

रिपोर्टले कसैले जानीजानी भाइरस फैलाएको भन्ने विषयमा विश्लेषण नगरिएको स्पष्ट पारेको छ ।

के भाइरस प्रयोगशालामा निर्मित गरिएको थियो भन्ने बारे उनीहरुले सोधपुछ गरेका छैनन् किनभने भाइरस जिनोमको विश्लेषणको आधारमा यो सम्भावनालाई पहिले नै अन्य वैज्ञानिकले खारेज गरिदिएका छन् ।

तर रिपोर्टले प्रयोगशालामा यस्ता दुर्घटना दुर्लभ हुने तर यस्तो हुनसक्ने सम्भावना स्वीकार गरेको छ ।

‘भाइरसको वृद्धि, जनावरमा खोप वा क्लिनिकल स्याम्पलसँग काम गर्नेबेला सिमित सुरक्षा वा लापरवाहीका कारण प्रयोगशालामा मानिस संक्रमित हुनसक्छ ।’ रिपोर्टमा उल्लेख छ ।

तर रिपोर्टमा ‘डिसेम्बर २०१९ अघि कुनै प्रयोगशालामा सार्स–कोभिड–टु सँग सम्बन्धित भाइरस वा संयोजनले सार्स–कोभिड–टु जिनोम बन्ने जिनोम्सको रेकर्ड नभेटिएको’ जनाइएको छ ।

डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसमा काम गर्ने तीन वुहान प्रयोगशालामा ‘उच्च–गुणवत्तायुक्त जैव सुरक्षा स्तर’ छ । त्यहाँ एकजना पनि कर्मचारीलाई डिसेम्बर २०१९ देखि महिना वा हप्ता अघि कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण भेटिएको थिएन ।

यद्यपि, टेड्रोस एडनहोमले भाइरस प्रयोगशालाबाट फैलिएको विषयमा अधिक ठोस निष्कर्षमा पुग्नका लागि थप डाटा वा अध्ययन आवश्यकता भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?