राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी तिव्र

RSS
0
Shares

खोटाङ । राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधवार सचेतना गोष्ठी गरेको हो ।

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी) ले जानकारी दिए ।

जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो”उनले भने सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ का मुख्य दिनहरु, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको छ ।

जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा यही चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको थियो । आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहने गरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्य क्षेत्र रहने गरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्य क्षेत्र रहने गरी खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिका कार्य क्षेत्र रहने गरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ ।

दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनशक्ति परिचालन गरिने कोइरालाले जानकारी दिए । नियुक्त भएका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरणको काम गर्ने जनाइएको छ । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको सङ्ख्या, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण सङ्कलन गरिने कोइरालाले जानकारी दिए ।दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्ख्यिक तथा अन्य विवरण सङ्कलन गरिने कार्यालयले जनाएको छ ।

यस्तै वैशाख १३ गतेदेखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ति गरी जिम्मेवारी तोक्ने र तालीमको तयारी गर्ने, वैशाख १५ गतेभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, वैशाख १६ गतेदेखि २२ गतेको बीचमा सुपरिवेक्षक तालीम आयोजना गर्ने, वैशाख २४ गतेदेखि २५ गतेभित्र सुपरिवेक्षक कार्यक्षेत्रमा पुग्ने, वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ ।

विसं २०६८ को जनगणनाअनुसार दश स्थानीय तह रहेको खोटाङ जिल्लाको कूल जनसंख्या दुई लाख छ हजार ३ सय १२ थियो । यसमध्ये १७ हजार ६६२ विदेशमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?