संसदको शून्य समय : कसले के भने ?

लोकपथ
0
Shares

काठमाडौं । पुनर्स्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनीहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आज (बुधवार)को बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसदलाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे ।

सांसद डा. डिला सङ्ग्रौला पन्तले काम विहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनर्स्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाइन् । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराइन् ।

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीले केहीसमयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद बलबहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताए ।

सांसद दिव्यमणि राजभण्डारीले कोभिड–१९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौता अनुरुप बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि तदारुकता देखाउन सरकारसँग माग गरिन् । सांसदद्वय बालकृष्ण खाँण र प्रकाश रसाइली ‘स्नेही’ले बागलुङमा हालै कांग्रेस कार्यकर्तामाथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरे ।

शून्य समयमा बोल्दै सांसदहरु देवेन्द्र कँडेल, दिलकुमारी, देवप्रसाद तिमिल्सिना, नवराज सिलवाल, नारायणप्रसाद खतिवडालगायतले समसामयिक विषयमा सभामुखमार्फत संसद र सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?