फास्ट ट्रयाक निर्माणमा ८ अर्ब ३६ करोड खर्च, भौतिक प्रगति भने १२ प्रतिशत मात्र

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग निर्माणमा सीमित निर्माण व्यवसायीलाई सर्टलिस्ट गरिएपछि संसद्का विभिन्न समितिले यसबारे चासो देखाएको छ ।

केही समयअघि राष्ट्रिय सभाको प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिले समिति सदस्य, रक्षासचिव, सार्वजनिक खरिद अनुगमन कार्यालय र काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजना प्रमुखलाई बोलाएर छलफलसमेत गराएको थियो ।

प्रतिनिधिसभाअन्तर्गत लेखा समितिले सुरुङ निर्माणको सर्टलिस्टमा सीमित निर्माण व्यवसायी मात्र छानिएपछि मिलेमतोको शंकामा छानबिन थालेको छ । आवश्यक कागजात मागेर समितिले छानबिन अघि बढाएको बताएको छ ।

एक साताअघि मात्र प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले समिति सदस्य र आयोजना प्रमुखलाई बोलाएर छलफल गराएको थियो । छलफलबाट सांसद गणेश पहाडीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने गरी पाँच सदस्यीय उपसमिति बनाइएको छ ।

उपसमितिको पहिलो बैठक मंगलवार बस्ने समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् । अहिलेसम्म समयमै काम हुने–नहुने अन्योल छ, सुरुङको सर्टलिस्टिङको विषय विवादास्पद बनेको छ ।

सेनाको व्यवस्थापनमा ७२.५ किमि सुरुङमार्ग निर्माण जारी छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्ग आर्थिक वर्ष २०८०/८१ सम्म सक्नुपर्ने कार्यतालिका छ । यसमा अहिलेसम्म १८ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको छ । भौतिक प्रगति भने १२ प्रतिशत मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?