रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले वार्ता थालेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेसँगै आजैदेखि वार्ता शुरु हुन लागेको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिए ।
सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्सीय वार्ता टोली गठन गरेको हो ।

रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिनअघि देखि थारु कल्ल्याणकारी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । १९ बुँदे माग अघि सारेर आन्दोलित सो समूह रहँदै गर्दा जनता समाजवादी पार्टीले समेत उनको रिहाइको माग गर्दै आएको छ ।

उनको रिहाइ भए सरकारमा जान तयार रहेको जसपाको एक समूहले बताउँदै आएको छ । यस्तो अवस्थामा सरकारले वार्ता टोली बनाएपछि अब चौधरी रिहा होलान् ? भन्ने चासो शुरु भएको छ ।

सरकारले सबै प्रकारका हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै देशलाई शान्तिपूर्ण बनाउन लागिपर्ने लक्ष्यअनुसार वार्ताका लागि समिति बनाएको प्रवक्ता गुरुङको भनाइ छ ।

यसअघि चैत १२ मा आन्दोलनरत पक्षलाई भेट्न गृहमन्त्री थापा आफैं माइतीघर पुगेका थिए ।

रेशम चौधरी र लक्ष्मण चौधरीसमेतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा थापा सहभागी भएपनि सरकारको आलोचना समेत भएको थियो । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?