टेकसिँह धामी/ धनगढी- विगतका वर्षमा भन्दा यो वर्ष सुदूरपश्चिममा रङहरुको पर्व फागू पूर्णिमा (होली)को रौनकता घटेको छ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाईरसको संक्रमण बढेसँगै नेपालीहरु घर फर्किने क्रममा रहेकाले संक्रमण फैलिनसक्ने भन्दै सर्तकता बढाएपछि होलीको रौनक हराएको हो ।
सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

सुदूरका पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । तराईमा आज सोमवार रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
तर विगतका बर्षजस्तो यस बर्ष होलीमा चहलपहल भने छैन् । कोरोना भाइरस महामारीको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले होली खेल्दा भीडभाड नगर्न आग्रह गरेपछि होलीको चहलपहल घटेको धनगढीकी स्थानीय बिना शाहीले बताईन् ।

उनले भनिन्, ‘बिगतका बर्षमा होली सामुहिक रुपमा मनाइन्थ्यो । यसपाली कोरोनाको जोखिमले गर्दा घरमै बस्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, र प्रशासनले भिडभाड नगर्न, स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेपछी विगतजस्तो होली नमनाइएको हो ।’
कोरोना फैलिन नदिन कैलालीमा आशिंक निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका कारण धनगढीमा होलीको चहलपहलमा कमी आएको स्थानीय शाहीले बताईन् ।
सुदूरका अरु जिल्लाहरुमा पनि कोरोनाभाइरसको दोस्रो लहरबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्थानीय प्रशासनले अपिल गरेपछि होलीको चहलपहलमा कमी आएको स्थानीयहरु बताउँछन् ।
कोरोना महामारीका कारण गत वर्ष र यस वर्ष बजार र सडकमा पनि ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कमै मात्रामा देखिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया