काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणविरुद्ध भएको प्रदर्शनमा प्रहरीको गोली लागेर हिजो (आइतवार) थप २ जनाको मृत्यु भएको छ ।
मोदीको बंगलादेश भ्रमणको विरोधमा उत्रिएका १९ वर्ष र २३ वर्षका दुुई युवा प्रहरीको गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मोदीको बंगलादेश भ्रमणको अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले विरोध प्रदर्शन गरिरहेको छ । त्यहाँको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि उक्त समूह आक्रोशित बनेको थियो ।
भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याउनुु गलत भएको भन्दै सो समूहले प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनका क्रममा शुक्रवार ५ र शनिवार ६ जनाको मृत्यु भएको जनाइएको छ ।

१६ करोड ८० लाख जनसंख्या रहेको बंगलादेशमा पछिल्ला दिन धेरै शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गरेर कम्तिमा ३५ प्रहरीलाई घाइते बनाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गृहमन्त्री असजुुद्दामान खानले प्रदर्शन नरोकिए थप कारबाही हुने धम्की दिएका छन् । मानवअधिकारवादी समूहहरुले बंगलादेशमा निरङ्कुशता, बेपत्ता पार्ने कार्य र गैरन्यायिक हत्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया