बाग्लुङ घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले होली खेल्ने क्रममा बाग्लुङमा दुई युवाको हत्या भएकोमा आपत्ति जनाउँदै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ ।

हत्या गरिएका दुवै नेपाली कांग्रेससँग आवद्ध रहेको र उक्त घटना नियोजित भएको कांग्रेसले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगमा प्रकाश कुंवर र दिपक नेपालीको हत्या भएको हो । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । भने नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुन् ।

आइतवार बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा दुई पक्षबीच असमझदारी भइ झडप भएको थियो ।

घटनामा दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको कांग्रेसको ठहर छ। त्यसैगरी प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

जारी विज्ञप्तिमा भनिए अनुसार घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमवारबिहान घटनास्थर्ल पुगेको छ ।

त्यस्तै घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारबाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?