मह जोडीलाई ‘महामुर्ख’ उपाधी

काठमाडौं । यस वर्षको ‘महामुर्ख’को उपाधी चर्चित हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजित विशेष कार्यक्रममा महामुर्खको उपाधी मह जोडीलाई प्रदान गरिएको हो ।

महामुर्खको उपाधि पाएपछि मह जोडीलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष कलाकारद्वय मह जोडीलाई प्रदान गरिएको हो ।

तराई होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा महामुर्ख सम्मेलनको आयोजना गरिएको कार्यक्रममा कवि शिरोमणिको उपाधी प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा,जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द,राजनीतिकर्मी राजिव झालाई वंश कुरहैर पदवीदिएको छ ।

साे सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलाकारद्वयलाई महामुर्खको उपाधी प्रदान गरेका थिए ।

त्यसैगरि जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको थियो ।

सम्मेलनमा सहभागी कविहरूले आ आफ्ना रचना प्रस्तुत गरी विभिन्न विषयवस्तुमाथि कटाक्ष प्रहार गरेका थिए ।

महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यसअघि परिषदले कवि नरेश ठाकुर, एमाले नेता शत्रुधन महतो, जसपा नेता डा. विजयकुमार सिंह, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, माओवादी केन्द्रका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, जसपाका नेता वृषेशचन्द्र लाल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतलाई उपाधि प्रदान गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?