रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका दुई जना पक्राउ

RSS
0
Shares

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गत आइतबार महाकुलुङबाट सातवटा रातो हाब्रेको छाला र पाँचवटा पासोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुकै बयानका आधारमा थप दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिवार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?