कोरोनाले जुराएको जुक्ति, भोकबाट मुक्तिः ६० रूपैयाँमा मीठो मासुभात (भिडियो रिपोर्ट)

रामजी बलामी/काठमाडौं- ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका विष्णु तिवारी कहिले कलंकी, कहिले संतुगल त कहिले सितापाइला बस्छन् । उनलाई आफ्नै भान्छा बनाएर खाना खानलाई न समयले साथ दिन्थ्यो, न त परिस्थितीले नै । त्यसैले महंगो मूल्यमा छाक टार्न बाध्य थिए, उनी ।

तर, पछिल्लो एक महिना यता उनी दंग छन् । किनभने उनले सस्तो मूल्यमा भोक मेट्न पाएका छन् । यसले उनको खाना खर्च समेत जोगिएको छ ।

यस्तै बालाजुका मनोज श्रेष्ठ पनि एक महिनादेखि ६० रुपैंयामा मासुभात खाँदै आएका छन् । बाहिर खाना खाँदा निकै महंगो हुने र ज्यालाबाट बचत गर्न समेत धौ-धौ भएको बेलामा सस्तोमा खाना खान पाउँदा खुशी लागेको उनको भनाइ छ । यही गुणस्तरको सादा खाना बाहिर एक सय रुपैंया भन्दा घटीमा नपाउने उनी बताउँछन्।

तिवारी र श्रेष्ठ मात्रै होइनन् डेढ महिनादेखि यही भान्छामा खाना खाँदै आएका टंकेश्वरका बलराम खत्री पनि सहुलियत मूल्यमा मीठो खाना खान पाएकोमा खुशी छन्।

भीमसेनस्थानस्थित सामुदायिक भान्साघरमा पुग्दा भोको पेट लिएर खाना खान आएका ग्राहकहरुलाई दाल, तरकारी, अचार थपिरहेका थिए २८ वर्षिय हसिँला युवा, कृष्णहरि भट्टराई।

उनी सानैदेखि सामाजिक काममा रुची राख्थे । कोभिड १९ को नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनले धेरैलाई दुई छाक टार्न समेत धौ धौ भयो। सर्वसाधारणको यही धौ धौ पूर्ण कठिन परिस्थितीलाई सामाजिक सेवा गर्ने मौकाको रुपमा सदुपयोग गरे भट्टराईले ।

उनीसहितको पाँच जनाको समूहले खाना सवैलाई अभियानमार्फत लगातार ६५ दिनसम्म करिव ७ सय जनालाई निःशुल्क खाना वितरण गरे। यही अभियानलाई लकडाउन खुलेपछि सामुदायिक भान्छामा रुपान्तरण गरे उनीहरुले । अहिले उनीहरुले काठमाडौंको भिमसेनस्थानस्थित परोपकार स्कुल अगाडि खाना सवैलाई सामुदायिक भान्छा संचालन गरिरहेका छन् ।

गत पुस ९ गतेदेखि संचालनमा आएको यस सामुदायिक भान्छामा हामी पुग्दा खाना खान आउने र भोक मेटेर फर्किनेहरुको संख्या बाक्लो थियो । यहाँ ५० रुपैंयामा थपिथपि सादा खाना खान पाइन्छ भने ६० रुपैंया तिरेपछि मासुभात खान पाइन्छ ।

दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया,निर्माण सम्वन्धी काम गर्ने कामदार, फूटपाथ व्यापारी, सरसफाइमा खटिने कामदार, ज्येष्ठ नागरिक, असक्त, फरक क्षमता भएका तथा अन्य न्यून आय भएकाहरुले यो सहुलियत मूल्यमा खाना खान पाउँछन् । यसलाई व्यवस्थित गर्नका लागि उनीहरुले कूपनको पनि व्यवस्था गरेका छन्।

यहाँ पाइने सादा खाना सेटमा दाल, भात, तरकारी, अचार र सलाद राखिएका छन् भने मासुसहितको खाना सेटमा चिकेन, माछा र अण्डा करी राखिएको छ । यहाँ ४ दिन चिकेन, २ दिन माछा र एकदिन अण्डाकरी पाक्छ ।

सवैलाई खाना अभियानलाई दीगोरुपमा लैजानका लागि यहाँ साधारण मूल्यमा पनि खान खाने व्यवस्था गरिएको छ । जसको मूल्य सादा खानाको ११० रुपैंया र ननभेज खाना १२० रुपैंयामा तोकिएको छ । सहुलियत र साधारण गरी दुईथरि मूल्यमा तोकिएपनि खानाको परिकार भने एउटै हो ।

यस सामुदायिक भान्छामा अहिले दिनहुँ करिव ३ सय जनाले खाना खाँदै आएका छन् । यहाँ खान आउने मध्ये ९० प्रतिशत लक्षित वर्ग र बाँकी १० प्रतिशत मात्रै अन्य वर्गको रहेको संस्थपक भटट्राई बताउँछन् । महिनौदेखि यहाँ खाना खाँदै आएका टंकेश्वरका बलराम खत्री सस्तो मूल्यमा मीठो खाना खान पाएको मख्ख छन् ।

यहाँको सहुलियत खाना खान कलंकी, कालीमाटी,सुन्धारा,बल्खुलगायतका ठाउँहरुबाट ग्राहक पुग्ने गर्छन् । यहाँ संस्थापकमध्येकै २ जना स्वंमसेवककारुपमा कार्यारत छन् भने अन्य ८ जनाले रोजगारी पाएका छन् । विगत ५ महिनादेखि काम गर्दै आएका अन्जु तामाङ पनि यहाँ काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् ।

सामुदायिक भान्छा स्थापनाताका हगिङ नेपाल नामक संस्थाले सहयोग गरेको थियो । हाल यस संस्थाले आंशिकरुपमा मात्रै सहयोग गरिरहेको बताउँदै संस्थापक भटट्राईले आगामी दिनमा नेपालीबाटै स्वनिर्भर बनाउने योजना रहेको सुनाए । त्यसका लागि तपाईसँग जे छ त्यही सहयोग गर्न सकिन्छ । यदि तपाईसँग केही पनि छैन भने परोपकारमा सस्तोमा खाना खान पाइन्छ भनेर अरुलाई भनि दिए मात्रै पनि पुग्छ भन्छन् भट्टराई ।

सहुलियत मूल्यमा स्वादिस्त खाना खान चाहनुहुन्छ भने तपाई बिहान साढे ९ बजेदेखि साढे १२ बजेभित्र र बेलूका ६ बजेदेखि राति ८ बजेभित्र परोपकारस्थित सामुदायिक भान्छामा पुगिसक्नु पर्नेछ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?