बैंकहरुले धमाधम जारी गर्दैछन् डलर कार्ड : यसले कसरी काम गर्छ ?

कमला अर्याल / काठमाडौं । पछिल्लो समय बैंकहरुले धमाधम डलर कार्ड जारी गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका हुन् । राष्ट्र बैंकको यसअघिको व्यवस्था अनुसार डलरमा खाता भएकाले मात्रै विदेशमा डलरमा भुक्तानी गर्न सक्थे । तर, राष्ट्र बैंकले सहज व्यवस्था गरेपछि बैंकहरु यस्तो कार्ड जारी गर्न आकर्षित देखिएका हुन् । राष्ट्र बैंकले गरेको सहज व्यवस्थासँगै माछापुच्छ्रे बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक,नबिल बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंक लगायतका बैंकले यस्तो कार्ड जारी गरिसकेका छन् । अन्य बैंकहरुले पनि जारी गर्ने तयारी गरिरहेका छन् ।

शुक्रवार माछापुच्छ्रे बैंकले स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सो कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ । बैंकका अनुसार आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सकिनेछ ।

त्यसैगरी, शुक्रवार नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड’ को सुरुवात गरेको छ । बैंकले भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्नेछन् बैंकका ग्राहकले ५०० अमेरिकी डलर बराबरको इकमर्स भुक्तानी गर्न सकनेछन् । बैंकले वार्षिक रुपमा ५०० डलर बराबरको खरिद गर्न पाउनेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई ३५ दिन ३५ प्रतिशत छुट सुविधा उपलब्ध गराएको छ ।

त्यस्तै, ग्लोबल आइएई बैंकले बिहिवार ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । यस कार्ड मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिनेछ । यस कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर,वाट्सअप लगायतका सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिने बैंकले जनाएको छ । बैंकले जारी गरेको यस्तो कार्डबाट भारत बाहेक अन्य मुलुकबाट अनलाइनमार्फत सामान खरिद गरेर अनलाईनमार्फत भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै,नबिल बैंकले मंगलवारदेखि ‘यूएस डलर नबिल आईकार्ड’ जारी गरेको छ । बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आईकार्ड’ ल्याएको हो । बैंकमा खाता हुने ग्राहकहरुले डलर कार्डमार्फत वार्षिक अधिकतम ५०० डलर सम्मको ई–कमर्शमार्फत अनलाइन सपिङ गर्न सक्नेछन् । बैंकको यो व्यवस्था भारत बाहेक अन्य मुलुकमा लागु हुनेछ । डलर कार्ड लिन खातासंगै प्यान कार्ड पनि अनिवार्य आवश्यक पर्ने बैंकले जनाएको छ । नेपालको इतिहासमा नबिलले नै डिजिटल बैंकिङ्ग कारोबारको शुरुवात गरेको थियो ।

त्यसैगरी, एनएमबि बैंकले पनि अन्तर्राष्ट्रिय मुद्रामा भुक्तानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय प्रिपेड कार्ड जारी गर्न गरेको छ । यस्तो कार्ड दिन ग्राहकले अनिवार्य रुपमा केवाईसी भरेको तथा प्यान नम्बर लिएको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, सिद्धार्थ बैंकले पनि सिद्धार्थ इकम कार्ड जारी गरेको छ । बैंकले विदेशी मुद्राको भुक्तानी गर्न सहज, आधुनिक र विश्वस्तरिय बनाउन शुक्रवार (चैत १३ गतेदेखि) सिद्धार्थ इकम कार्ड संचालनमा ल्याएको हो । सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ नेपालबाटै भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने बैंकले जनाएको छ । साथै यस्तो कार्ड लिन ग्राहकले केवाइसी (ग्राहक पहिचान विवरण) अद्यावधिक भएको र स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिएको हुनुपर्नेछ ।

यस्ता छन् फाइदा

बैंकहरुले डलर कार्डको सुरुवात गरेपछि आम ग्राहकलाई निकै सहज हुने भएको छ । बैंकका ग्राहकहरुले अब विदेशमा कुनै सामान खरिद गर्नुप¥यो भने सहज रुपमा डलरमा आफ्नै कार्डबाट भुक्तानी गर्न सक्ने भए । अबदेखि डलर कार्ड हुने बैंकका ग्राहकहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तानी गर्न सक्ने भएका छन् । साथै उनीहरुले आफ्नो व्यवसायलाई तत्कालै भुक्तानी गरी प्रवर्धन गर्न सक्नेछन् । साथै,बैंकका ग्राहकले नेटफ्लिक्स, अमेजन लगायतका प्लेटफर्मको भुक्तानी पनि आफ्नै कार्डबाट गर्न सक्नेछन् । तर बैंकले उपलब्ध गराएको यस्तो डलर कार्डमार्फत विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी बाहेक अन्य कारोबारका लागि भुक्तानी गर्न नपाइने व्यवस्था बैंकहरुले गरेका छन् । यस्तो कार्डमार्फत सपिङ्ग, शिक्षा लगायको भुक्तानी गर्न सकिने बैंंकले जनाएका छन् ।

यसरी लिनुहोस् डलर कार्ड ?

बैंकहरुले जारी गर्ने यस्तो डलर कार्ड लिन सबैभन्दा पहिले सो बैंकमा खाता अनिवार्य रुपमा खोलिएको हुनुपर्नेछ । त्यस्तै, ग्राहकले केवाइसी समेत भरेको तथा अद्यावधीक गरेको हुनुपर्नेछ । ग्राहकले बैंकमा ग्राहक पहिचान पत्र समेत भरेको हुनुपर्नेछ । यसका साथै डलरकार्ड लिन प्यान नम्बर समेत अनिवार्य आवश्यक पर्छ । नयाँ ग्राहकले यस्तो कार्ड लिनुपरेमा सुरुमा बैंकमा खाता खोल्ने र केवाइसी भर्ने । त्यसका साथै प्यान नम्बर पनि लिने । त्यसपछि यस्तो कार्ड लिन सकिन्छ । यस्तो कार्ड लिँदा बैंकले निश्चित शुल्क लिन्छन् । बैंकहरुले लिने शुल्क भने फरक फरक हुन सक्नेछ । ग्लोबल आइएमई बैंक,नबिल र एनएमबी बैंकको यस्तो कार्डको शुल्क ५०० रुपैँया रहेको छ ।

दुरुपयोग गर्दा यस्तो छ कानुनी कारवाही

बैंकहरुले जारी गर्ने यस्तो कार्डको दुरुपयोग गर्न पाइने छैन । ग्राहकले अफ्नो खाता भएका सबै बैंकबाट यस्तो कार्ड लिएर सुविधा लिन पाउने छैनन् । ग्राहकले कुनै एक बैंकबाट मात्रै यस्तो कार्ड लिन सक्नेछन् । यदि ग्राहकले यस्तो कर्ड लिएर दुरुपयोग गरेको ठहरिएमा विदेशी विनिमय ऐन २०१९ अनुसार कारवाहि गरीने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत चैत ८ गते एकिकृत निर्देशिका २०७६ मा संशोधन गर्दै भुक्तानी प्रयोजनको लागि ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यहि व्यवस्थापछि बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस्तो सुविधा दिन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?