क्याम्पसमा मृत चित्तल भेटियो

लोकपथ
0
Shares

मकवानपुर । फेरेष्ट्री क्याम्पसमा मृत चित्तल भेटिएपछि विद्यार्थीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । वन्यजन्तुको संरक्षण माग गर्दै वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरुले आइतवार हेटौंडामा केहीबेर सडक अवरुद्ध गरेका हुन् ।

क्याम्पसभित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका हुन् ।

क्याम्पसको जंगलमा रहेका वन्यजन्तु संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनुपर्ने, सडक क्षेत्रको भू-भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नुपर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । क्याम्पस परिसरमा आइतवार विहान एउटा चित्तल मृत फेला परेको थियो ।

मृत चित्तललाई डिभिजन वन कार्यालयले व्यवस्थापनका लागि लाने गरेको र सोबारे कुनै अनुसन्धान नै नहुने गरेको विद्यार्थीको आरोप छ । फरेष्ट्री क्याम्पस परिसरभित्र लकडाउनको अवधि यतामात्रै १६ वटा चित्तल मृत अवस्थामा भेटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?