‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

RSS
0
Shares

म्याग्दी। म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागुपूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागुपूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए ।

तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, शेरचनले भने आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।

परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ ।

तारो खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ ।

कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकूदको एउटा विधाका रूपमा मान्यता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?