जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

RSS
0
Shares

बनेपा । जनआन्दोलन २०६२/६३ का घाइते बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्धारा सम्मान गरेको छ ।

नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिवार मुकेशलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गर्नुभएको हो ।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिए । अझै पनि ओछ्यानमै उपचार गराइरहेका मुकेशलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याउनुभएको थियो ।

सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी गराएकी थिइन् । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइकी थिइन् ।

मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको समेत सुनाइन् । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।

उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा.सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित हुनुभएको छ भने इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) हुनुभएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित हुनुभएको छ ।

शाहले अरनिको राजमार्ग दायाँ/बायाँ बनेका संरचना हटाउन ठूलो योगदान दिएको र उप्रेतीले कोरोना भाइरस रोगको रोकथाम र न्यूनीकरण गर्न पु¥याएको योगदानस्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?