ब्याजबापत श्रमसँगै यौन शोषण

RSS
0
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ ।

शनिवार सल्लेरीमा पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ ।

ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई राईले आफ्नो घरमा बारम्बार काम गर्न बोलाउनु भयो, भावुक हुँदै पीडित महिलाले भनिन् । आर्थिक अवस्था कमजोर भएका कारण राइले जे भन्यो त्यही मान्न बाध्य भए ।

घरायसी कामसँगै तीन÷चार दिनको अन्तरमा राईले जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”महिलाले भनिन् ।दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन् भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनले बताइन् । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको दाबी गरे ।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन । केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहे ती महिलाले भनिन् ।

पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताइन् ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुरदेखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले सुनाइन् ।

जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ ।

यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?