झा दम्पत्तीको हत्या प्रकरण: थप ३ जना आफन्त पक्राउ

महोत्तरी- पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफीर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन्।पक्राउ परेका तीनै जना झा दम्पतीका नातेदार हुन्।

उनीहरूलाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

झा दम्पतीको अपहरण गरी हत्या आरोपमा एक साताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसहित भारत बिहार मधुवनी घर भई महोत्तरीको बनौलीमा बस्ने गरेका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।

गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा फेला परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?