होलीको पूर्वसन्ध्यामा काठमाडौंमा जे देखियो (फोटोफिचर)

काठमाडौं । रङहरुको पर्व होली अर्थात् फागु पर्व भोलि (आइतवार) धुमधामका साथ देशभर मनाईंदै छ। तराईका जिल्लामा भने आगामी सोमवार होली मनाउने चलन छ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ । विभिन्न रङ, अबीर दलेर, लोला खेल्दै पिचकारीबाट पानी छ्यापेर शुभकामना साटासाट गर्दै विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रङ र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहेको छ।

होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।

यस वर्ष पनि कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै सरकारले सार्वजनिक समारोह, कार्यक्रम, भेला, गोष्ठी तथा भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न र नगराउन तथा त्यस किसिमका कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ । नेपाल प्रहरीले आफ्नो परिवारको बीचमा मात्रै होली खेलेर सभ्य र स्वस्थ रहन अपिल गरेको छ।

यद्यपि हामीले होलीको पूर्वसन्ध्यामा काठमाडौँमा देखिएको होलीको माहोललाई क्यामेरामा कैद गरेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?