घाँटीमा मासु अड्केर बेहोस वडाध्यक्षको मृत्यु

RSS
0
Shares

कञ्चनपुर । वनभोज खान गएका वडाध्यक्षको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रवार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

घाटीमा मासु अड्केर बेहोस भएपछि उनलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उपचारकै क्रममा चन्दको मृत्यु भएको र थप विवरण शव परीक्षणपछि मात्र आउने प्रहरी नायब उपरीक्षक थापाले बताए । शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?