काठमाडौं । काठमाडौंका रैथाने नवीन्द्रराज जोशी । उनको पैतृक सम्पत्ति प्रशस्त थियो र त उनमा कुनै लोभलालच भएन । भयो त केवल देश र जनताको हितमा कसरी काम गर्ने भन्ने चिन्ता मात्र । विद्यार्थीकालबाटै राजनीतिमा होमिएका उनी मन्त्री, सांसद सबै भए तर व्यक्तिगत स्वार्थका लागि कहिल्यै लागेनन् । बरु उनी प्रचण्ड नेतृत्वको सरकारका पालामा उद्योगमन्त्री हुँदा उद्योगसँग सम्बन्धित सुधारका कामहरु गरेर तारिफयोग्य पात्र बने ।
२०६७ सालदेखि पूर्ण रूपमा बन्द भएको सिटामोल उद्योगलाई पुनःजन्म दिन उनले निकै भूलो भूमिका खेलेका थिए । उनकै पहलमा उद्योगले जीवनजल उत्पादनसँगै लय समातेको थियो । सिटामोलपछि एमजिट, आइरन चक्की, जीवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्टलगायतका औषधि उत्पादन बाटो पनि त्यसैबाट खुलेको थियो ।
नेपाली बजारमा १० करोडभन्दा बढी ट्याब्लेट सिटामोल खपत हुने गरेको छ । २०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्ने कम्पनी बन्द अवस्थामा रहेको जानकार भएरै नै उनले उद्योग खुलाउन पहल गरेका थिए ।
जोशीले गत वैशाखतिर पनि नेपालमा उत्पादित सिटामोलको गुणस्तर वृद्धि भएकाले कोरोना संक्रमणको समयमा अन्य मुलुकमा निर्यात गर्न सकिने राय सरकारलाई दिएका थिए ।
जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
उद्योग मन्त्रालयले कोरोना संक्रमणको बेलामा चाल्नुपर्ने कदमका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेख्दै जोशीले पुनःस्थापित नेपाल औषधि उद्योग लि.ले स्यानिटाइजर उत्पादन गरी आशाको दियो ल्याएको उल्लेख गरेका थिए ।
शुक्रवार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको थियो । फागुन १४ गते मष्तिष्कघात भएपछि वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएका उनी यस संसारबाट विदा भएका हुन् ।
जोशी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघबाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए । यस्तै पछि उनी सांसद र मन्त्रीसम्म बनेका हुन् । उनलाई कांग्रेसभित्र इमान्दार छवि भएका नेताका रुपमा चिनिन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया