काठमाडौं – कोरोनाको एक वर्ष बितिसक्दासमेत विश्वका हरेकजसो मुलुक यो महामारीसँग जुधिरहेका छन् । कोरोनाविरुद्धको खोप बनिसकेको अवस्थामा मानव समुदायकै लागि सबैभन्दा ठूलो चुनौती र यो पुस्ताका लागि इतिहासकै भयावह अवस्थाको डर अझै हट्न सकेको छैन। न त यसको प्रभावकारी र भरपर्दो उपचार छ, न त उपाय नै। यसो भन्नुको तात्पर्य के हो भने कतिपय कोरोना संक्रमित जसले मात्रा पुराएर खोप लगाए । तर फेरि संक्रमित बनेको समाचार समेत बाहिरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले निकालेको निष्कर्ष कोरोनाको एक मात्र विकल्प व्यक्तिगत सावधानी नै हो । अहिले विश्व यही अभ्यासमा अभ्यस्त छ ।
कोरोना भाइरसको दोस्रो लहरसँगै विश्वका थुप्रै मुलुकहरुले फेरि लकडाउन गरेका छन् । विकसित देशहरु जसले भ्याक्सीन बनाउने ताकत राखे, ति मुलुकसमेत घुँडा टेक्ने अवस्था आइरहेको छ ।
चीनको वुहान राज्यबाट शुरु भएको यो महामारी अहिले विश्वव्यापी बन्दै गर्दा यसको प्रत्यक्ष सिकार नेपाल पनि हुन पुगेको छ । अहिले छिमेकी भारतमा फैलिएको तीव्र गतिले नेपालतर्फ राम्रो संकेत गरेको छैन । त्यसो त नेपालमा पनि फेरि लकडाउनको चर्चा सुनिन थालेको छ ।
कोरोनाको स्ट्रेनदेखि दोस्रो लहरको भयावह अवस्थाको सामना गरिरहेका विकसित मुलुकले समेत विकल्प सोच्न सकेका छैनन् । यी घटनाहरु हाम्रालागि निक्कै मननयोग्य छन् ।
नेपाल भौगोलिक र जनसंख्याका आधारमा सानो राष्ट्र हो । भूपरिवेष्ठित देश नेपालमा पर्याप्त साधन, श्रोतको अभाव छ । अत्याधुनिक उपकरणसहितको स्वास्थ्य सुविधाको अभावका बावजुद पनि कोरोना भाईरस जस्तो महामारीसंग जुध्ने ठूलो साहस नेपालले र नेपालीले उठाईरहेका छन् । यतिवेला नेपाल सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि भएभरको ताकत लगाईरहेको छ।
सरकारका धेरै प्रयासहरु स्वागतयोग्य र सम्मानयोग्य छन् । यो महामारी हो । सरकारको एक्लो प्रयासले यो समाधान हुँदैन। सरकारलाई प्रत्येक नागरिकको उत्तिकै साथ र समर्थन चाहिन्छ । तर, सरकार बाहिरबाट सहयोग गर्नुको साटो सरकारका काम, कारवाहीहरुप्रति टिकाटिप्पणी र आलोचनाहरु गर्न कम्मर कसेर लागि पर्नु देशभक्त, कर्मठ नागरिकको दायित्व पक्कै होइन र यो आलोचनाका लागि उचित समय पनि होइन ।
कोरोनाको शुरुवाती समयमा सरकारले सीमा नाकाहरु बन्द गर्न केही ढिला ग-यो । तर, देशलाई लकडाउन गर्ने घोषणासँगै सरकारले जुन खालका रणनीति बनाएर संक्रमणलाई केहि हदसम्म कम गर्न सक्यो, यो मननयोग्य छ । थोरै पूर्वाधार सानो पूँजी भएका कारण चाहेर पनि भने नागरिकले भनेजस्तो स्वास्थ्य सुविधा प्रदान गर्न सक्दैनौँ। अत्याधुनिक उपकरणका लागि विदेशी तथा दातृनिकायहरुसँग सरकारले जुन पहल र प्रयास गरेको छ त्यो उचित छ ।
हामीले घरभित्र बसेर आलोचना गर्न जस्तो काम गर्न पक्कै सजिलो छैन । सरकारी निकायका कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुले ठूलो जोखिम मोलेर जनताको सेवामा लागि परिरहेका छन् ।
आफूसँग नभएका सामग्रीहरु तुरुन्त निर्णय गरेर खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । होला ती सामानहरु खरिद गर्ने सन्दर्भमा केही त्रुटिहरु भए होलान्, कही, कसैले जानेर, नजानेर गल्ती, कमीकमजोरी गरे होलान् त्यसको समीक्षा गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने समय पक्कै आउँछ । तर, अहिले नै हामीले हाम्रा सकारात्मक, नकारात्मक सबै धारणाहरु व्यक्त गर्ने र काम गरिरहेको निकायलाई हतोत्साहित गर्ने काम कदापी गर्नु हुदैन । यस्तो परिस्थितिमा काम गर्नु नै सबैभन्दा ठूलो कुरा हो।
संकटको खेतीमा सफलताको बोट रोप्न सक्नुपर्छ । संकटबाट आत्तिने र भाग्ने कुरा आउँदैन । यतिवेला सबैतिर चर्चा छ । दैनिक ज्याला, मजदुरी गरेर खानेहरुको जीवन कष्टकर भयो । यही चर्चा हामीले भूकम्पको समयमा, नाकाबन्दीको समयमा नसुनेको पक्कै होइन ।
जबसम्म हामीमा संचय गर्ने, भविष्यका लागि सोच्ने सोच आउँदैन हामीलाई यी र यस्ता विपत्तिहरुले यस्तै समस्यामा पारिरहने छन् । आखिर दिनभर कमाएर साँझ र विहान मात्र खान पुग्ने यहाँ को छ र ? भनिन्छ नि, ‘जोगाउनु पनि कमाउनु जस्तै हो ।’ मैले दिनभर ज्याला, मजदुरी गर्नेहरुको दैनिकी हेरेकी छु । उहाँहरुलाई नराम्रो भन्न खोजेकी होइन तर उहाँहरुमा संकलन गर्ने, भविष्य सोच्ने भन्ने सोच पटक्कै आउँदैन । साँझ, विहान खायो बाँकी रहेको रक्सी खाने र अनावश्यक खर्च गरेर खर्चिने गर्नु हुन्छ।
यस्ता व्यक्तिहरुले पनि यी संकटकालीन अवस्थाहरुबाट सफलताको बोट रोप्नु पर्छ । हरेक विनाशले विकासको ढोका खोलिरहेको हुन्छ । यो हामीले बुझ्न जरुरी छ । काम गर्नु पर्छ, भविष्यलाई सोच्नुपर्छ, आत्मनिर्भर हुनुपर्छ भनेर हामी तीन वर्षदेखि हिँडिरहेका छौं।
फेरि लकडाउन भैहाल्यो भने यो समयलाई एउटा बाध्यता र बोझका रुपमा नलिएर एक अवसरका रुपमा लिनुपर्छ। बदलिदो विश्वपरिवेशसंगै हाम्रा जीवनशैलीहरुमा अस्वभाविक परिवर्तन आईरहेका छन् । एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धेरै संस्कारका कुराहरु हस्तान्तरण गर्न हामीले फुर्सद पाईरहेका थिएनौ।
पक्कै यो समय घरभित्र बसेर हामी भन्दा अघिल्लो पुस्ताबाट हामीले केही सिक्ने र हामी पछिको पुस्तालाई केही सिकाउने महत्वपूर्ण अवसर पनि हो, हाम्रा लागि । यो समयमा हामीले केही सकारात्मक क्रियाकलाप गरेर हाम्रा बालबालिकाहरुलाई राम्रो राम्रो कुराहरु सिकाउन सकिन्छ । अहिलेसम्म सिकाउन नसकेका घरका कामहरु राम्रोसंग समय दिएर सिकाउन सकिन्छ।
घरमै बसेर सामाजिक संजालको सही सदुपयोग गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्न सक्छौं । अनावश्यक टिकाटिप्पणीमा लाग्नु भन्दा, अरुको आलोचनामा समय खर्चिनु भन्दा सिर्जनात्मक कामहरु गरेर अरुलाई प्रेरित गर्न सक्छौं । हामी यतातिर सोचौं ।
अर्को कुरा मैले समयसमयमा भन्दै आईरहेकी हुन्छु, सरकार हाम्रो अभिभावक हो । हो, सरकारलाई प्रत्येक नागरिकको जिम्मेवारी छ । तर, त्यसो भन्दैमा हाम्रा सबै काम सरकारले नै गरिदिनु पर्छ भन्ने सोच हामीले राख्नु पनि गलत हो । मैले देखिरहेकी हुन्छु, सामाजिक संजालमा आफ्ना विभिन्न समस्याहरु राखिरहनु भएको हुन्छ । समस्या उजागर गर्नु ठूलो कुरा होइन, त्यसको समाधान ठूलो कुरा हो । अनि समाधानका लागि कति राज्यको दायित्व हुने र कति आफ्नो भूमिका रहन्छ बुझ्नु पर्छ ।
कोरोनाको दोस्रो लहरबाट जोगिन केहि समय निकालेर हाम्रो घरमा निस्कने फोहोर मैलाको व्यवस्थापनका लागि हामीले सोच्नु पर्छ । जस्तो कि यस्तो विषम परिस्थितिमा पनि सरकारले फोहोर मैला व्यवस्थापनको काम गरिरहेको छ । यसो भन्दैमा यतिवेला सरकारलाई पनि यो काम गर्न सहज छैन । पहिलो कुरा त हामीले यतिबेला थोरै भन्दा थोरै फोहोर निकाल्न सक्छौँ । यदि सम्भव हुन्छ वा हाम्रो घरवरिपरी खाली ठाँउ छ भने सडेगलेका फोहोरलाई जमिनमा खाल्डो खनेर गाड्ने काम गरौँ । यसबाट वातावरण प्रदुषण नियन्त्रणमा टेवा पुग्ने छ ।
हामी यतिबेला दुःखमा छौँ, फोहोर व्यवस्थापन महत्वपूर्ण पाटो हो । गर्मी बढ्दै गईरहेको छ । हामीले गरेको हेलचक्राईका कारण अन्य सरुवा रोगहरु पनि यही बेला सल्बलाउन थाले भने झन स्थिति भयावह हुने छ । त्यसैले फोहोर मैलो व्यवस्थापनका लागि हामीले आफूले सकेको योगदान यो फुर्सदको समयमा सबैले गरौं । यो समयमा आफ्नो लागि मात्र होइन, समाजका लागि, राष्ट्रका लागि सोचौं, व्यक्तिगत सरसफाईमा ध्यान दिऔँ । हामीले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नु पर्छ । भित्र बस्नु पर्ने दुःखको कुरा पनि हो तर, यो कुरालाई पनि सही सदुपयोग गर्न सक्छौं ।
कोरोनाले मानव समुदायलाई आतंकित तुल्याएको छ । तर, केही सन्देश पनि अवश्य दिएको छ । यतिवेला जीवन महँगो भएको छ र मृत्यु सस्तो भएको छ । अब बाँच्नकै लागि मान्छेले धेरै कुराहरु ख्याल गर्नुपर्ने छ ।
संस्कार समाज नेपाल विगत तीन वर्षदेखि वातावरण सरसफाई र आचरण सुधारौं अभियानमा जोडिदै आएको छ । हामीले तीन वर्षअघिदेखि समाजमा यस्तै सकारात्मक सन्देशहरु प्रवाह गर्ने काम ग-यौं । धेरै परिवर्तनको आभाष पनि हामीले महशुस गरेका छौं।
हाम्रो प्रयास यसपछि पनि निरन्तर रहने छ । कोरोनाले हामी व्यक्तिगत रुपमा स्वस्थ्य, सवल भएर मात्र हुँदैन । हामी स्वस्थ्य, सवल र सुरक्षित रहनका लागि हाम्रो समुदाय, हाम्रो राष्ट्र पनि स्वस्थ्य हुनु पर्छ भन्ने सन्देश कोरोनाले दिएको छ । पक्कै पनि अबको पुस्ताले कोरोनाबाट यी कुराहरु सिक्ने छ । हामी अहिले फुर्सदमा छौं । यो समय केही लम्ब्याएर हाम्रा सबै संयन्त्र र सिस्टमहरुलाई पनि केही सुधार गरौं । ताकि भोलीका दिनमा कसैले, कसैलाई दोष लगाउने अवस्था सिर्जना नहोस् ।
प्रविधिको युगमा बाँचिरहेका हामीले प्रविधिकै अधिकतम प्रयोग गरेर राज्यका हरेक व्यक्तिको व्यक्तिगत विवरण राखेर अगाडि बढ्नु अनिवार्य छ । यसरी काम गर्न सके हरेक क्षेत्रमा पारदर्शीतका साथ प्रभावकारी रूपमा गति दिन सकिन्छ । यो समयमा यस्तै सकारात्मक सोचहरु लिएर अगाडि बढौं । सकारात्मक सोच नै कोरोनासंग जुध्ने र भोलिको सुनौलो भविष्य निर्माण गर्ने आधारस्तम्भ बन्न सक्छ। –पशुपति गुरुङ
(लेखक, संस्कार समाज नेपालका अध्यक्ष हुन्)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया