काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने देखिएको छ । नेपालबाट भारतमा रोजगारीका लागि गएका नेपालीहरु स्वदेश फर्किनेक्रम बढेपछिसँगै नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने भन्दै त्यसबारे सचेतना अपनाउन थालिएको छ ।
यसैक्रममा जनस्वास्थविद् डा. रविन्द्र पाण्डेले नेपालमा तत्काल लकडाउन नहुने बताएका छन् । यदि संक्रमणको दर धेरै बढेमा सिमित ठाउँहरुमा लकडाउन गर्न सकिने जनश्वास्थ्यविद् पाण्डेले बताए । तर हामीले जनस्वास्थ्यका मापदण्ड अपनाएमा लकडाउनको स्थिति नआउने भन्दै जनस्वास्थ्यको मापदण्ड अपनाउनका लागि आग्रह समेत गरेका छन् ।
जनस्वास्थ्यविद् डा. पाण्डेले सामाजिक सञ्जालमा लेख्दै महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासाका सन्दर्भमा जानकारी दिएका छन् । ‘लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।’ उनले भने ।
त्यस्तै नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएमा पहिलेको जस्तो क्षति नहुने जनस्वास्थ्यविद् डा.पाण्डेको अनुमान रहेको छ । पहिले हामीसँग मास्क, स्यानिटाइजर, पीपीई लगायतका सामाग्रीहरु अभाव भएकाले तर अहिले त्यस्तो अवस्था नरहेको डा. पाण्डेले बताए ।
‘दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन। त्यो बेला हामीसंग साधन (मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् । आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ । जनस्वास्थ्यविद् पाण्डेले भने- ‘खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रत्यक्ष छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ ।’ खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ । उनले थपे ।
त्यसैगरी महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य बताउँदै उनले जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो रहेको बताए । कर्तव्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न नहुने भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया