उद्यमी जन्माउन निजी क्षेत्रको पहल : वार्षिक ४ लाखलाई रोजगारी सृजना गरिने

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वदेशमै उद्यमी उत्पादन गर्ने कामको शुरुवात गरेको छ।

महासंघले नव उद्यमी (स्टार्टअपहरू) को प्रवद्द्धन मार्फत् मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न स्टार्टअप तथा इनोभेसन समिति समेत गठन गरेको छ । महासंघमा यो समिति पहिलो पटक गठन भएको हो ।

कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा समिति गठन भएको हो । सो समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने  स्टार्टअप उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवर्द्धनमा गर्न उद्योग मन्त्रालय अन्तरर्गत लगानी प्रवर्द्धनमा महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माण गर्न पहल गर्ने, नयाँ सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूँजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरू गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्याकालमा महत्वकांक्षी योजनाका साथ भिजन पेपर सार्वजनिक गर्ने तयारी गरेका छन। सोही भिजन पेपरलाई सहयोग पुग्ने गरी महत्वपूर्ण हिस्साका रूपमा स्टार्टअप समिति गठन गरेको हो । सो समितिले ५० नव उद्यमीलाई अघि बढाउने तयारी गरेको छ । अध्यक्ष गोल्छाका अनुसार सन् २०३० सम्म अर्थतन्त्र १ सय खर्बको बनाउने तथा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने अभियान अन्तर्गत स्टार्टअप कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रम अन्तर्गत स्टार्टअप छनोट गर्न महासंघले आवेदन माग गर्ने जनाएको छ ।

त्यसबाट योग्य ५० नव उद्यम/उद्यमी छनोट हुनेछन् । यसरी छनोट भएका नव उद्यमीहरुलाई सो समितिले दुई वर्षसम्म सहयोग गर्नेछ । यस अन्तर्गत कृषि, सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक, सेवा इत्यादि क्षेत्रका लागि उद्यमी वा व्यवसाय सहभागी हुन पाउने छन् । साथै उनीहरुलाई समिति अन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराइ लगानी तथा व्यवसायिक साझेदारीका लागि सहजीकरण गर्ने योजना रहेको समेत महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?