माओवादी केन्द्रको निष्कर्ष : नेकपा भंग गर्ने सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सर्वोच्च अदालतले गरेको नेकपा विभाजनको विषयलाई लिएर पुनरावलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा नाम विवादमा सर्वोच्चले फागुन २३ गते गरेको फैसला लिएर पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताएका छन्।

आज सिंहदरबारमा कानून व्यवसायीहरुसँग छलफल गर्दै माओवादी केन्द्रले उक्त निष्कर्ष निकालेको हो ।

छलफलमा शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत कानून व्यवसायीहरुको सहभागिता थियो ।

उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाव दिएको प्रमुख सचेतक गुरुङले बताए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपालाई भंग गर्दै पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्रमा फर्किनुपर्ने गरी फैसला गरेको थियो । २०७५ साल जेठ ३ गते भएको तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भइ नेकपा भएको थियो । यसैगरी नेता ऋषी कट्टेलले आधिकारीक नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?