टिकापुर नगरपालिकाद्धारा किसानलाई निःशुल्क घाँसको बीउ वितरण

RSS
0
Shares

कैलाली । टीकापुर नगरपालिका पशु सेवा शाखाले किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताउनुभयो । नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ” पाण्डेले भन्नुभयो, “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताउनुभयो ।

टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ”,उहाँ भन्नुहुन्छ, “मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ । हामी सहयोगीका रूपमा उभिएका छौँ ।

टीकापुर नगरपालिकामा अहिले व्यावसायिकरुपमा पशुपालन गर्ने कृषि फार्म ८२ छन् भने २५ समूह छन् । ती कृषि फार्ममा गाई, भैँसी, बङ्गुर, बाख्रालगायत पशुपालन गरिएका छन् । व्यावसायिकरूपमा मासु तथा दूध उत्पादनका लागि कृषिकर्म गरिरहेका किसानलाई पशु सेवा शाखा कार्यालयले हरेक वर्ष यसरी नै घाँसको बीउ वितरण गर्ने गरेको छ ।

यस्तै जानकी गाउँपालिकाले पनि पशुपालनमा लागेका किसानलाई व्यवसाय सञ्चालनमा सघाउँदै आएको छ । गाउँपालिकाले घाँसको बीउ वितरण, घाँस काट्ने मेसिन, गोठ निर्माणलगायतका काममा किसानलाई सघाउँदै आएको छ । पालिकाले किसानलाई तालिम, पशुको उपचारमा सघाउन समय–समयमा शिविरसमेत सञ्चालन गर्ने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?