काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच दुई देशबीचका सम्बन्ध र आपसी हितका विषयका केन्द्रित रही विचार विमर्श भएको थियो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको र दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताए । दुई देशबीच उच्चस्तरीय भ्रमण आदन–प्रदान हुँदै आएको उल्लेख गर्दै उहाँले सन् २०१८ मार्चमा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीको नेपालको औपचारिक भ्रमण स्मरण गरे ।
अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृति, जनताबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै दुई मुलुकको आपसी लाभका धेरै काम गर्न सकिने धारणा राखे । “कोरोना भाइरसको महामारीका कारण संसारमा नयाँ चुनौती थपिएको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “यसले दुई देशमा पनि असर गरेकाले पारस्परिक साथ र सहयोगले घातक भाइरसविरुद्ध लड्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
नेपाली पर्वतारोहीको टोलीले ‘केटू’ हिमालको पहिलोपल्ट सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले यसले दुई देशको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । पाकिस्तानको सिनेटको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएकामा मुहम्मद सादिक सन्ज्रानीलाई बधाई ज्ञापन गर्दै उनले राजदूत शाहमार्फत फल कार्यकालको शुभकामना व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सरकार र संसद्बीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत् सम्बन्ध रहिआएकामा थप मजबुद बनाउन आफूले सक्दो काम गर्ने अठोट व्यक्त गरेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । पाकिस्तानमा पढेर आएका चिकित्सकले नेपालमा सेवा गरेको देख्न पाएकामा खुशी व्यक्त गर्दै उनले छात्रवृत्ति र तालिमहरु बढाउने तयारीमा रहेको जानकारी दिए । राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया