दुई दिने भ्रमणका लागि ढाकामा राष्ट्रपति भण्डारी, समकक्षी हमिदले गरे स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेशको ढाका पुगेकी छिन् ।

सोमवार(आज) बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ बिमान मार्फत ढाकातर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

बंगलादेशी समकक्षी अब्दुल हमिदले राष्ट्रपति भण्डारीलाई विमानस्थलमा स्वागत गरेका छन् ।

यसैक्रममा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलम लगायतले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।

साथै बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएर राष्ट्रपति भण्डारीको सम्मान गरेको थियो ।

पूर्व निर्धारित कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका शहीदहरूको शालिकमा माल्यार्पण गरेकी छिन् ।

तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारकको भ्रमण, ढाकास्थित नेपाली दूतवास भ्रमण साथै नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ।

सांस्कृतिक टोली समेत रहने राष्ट्रपति भण्डारीको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?