सबै दल आ-आफ्नै दाउमा : सत्ता समीकरणमा अलमल

काठमाडौं – गत फागुन २३ को सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि राजनीतिक दलहरु सत्ता समीकरणको जोड घटाउमा लागेका छन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको दुई दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । तत्कालीन नेकपा हुँदा एमाले र माओवादी एउटै पार्टी थिए । सर्वाेच्चको फैसलाले दुबै पार्टी पहिलाकै अवस्थामा फर्किन पुगे । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण देखाएर गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे । तर ओलीको कदम असंवैधानिक भन्दै सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्‍यो ।

ओलीले सरकारमा रहेर जथाभावी गरेको, पार्टी निर्णय नमानेको भन्दै तत्कालीन नेकपामा रहँदा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल ओलीबिरुद्ध लागे । एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि दाहाल माओवादी केन्द्रको अध्यक्ष छन्। भने ओलीले नेपाल र खनाल पक्षलाई पेलेर जान थालेका छन् ।

नेपाल – खनाल ओलीसँग रुष्ट छन् भने दाहाल पनि ओलीलाई सत्ताबाट बहिर्गमन गराउने पक्षमा छन् । तर परिस्थिति अनुकुल नबन्दा ओलीको सत्ता लब्बिरहेको छ । प्रतिनिधि सभामा अहिलेको गणितमा एमालेका १ सय २० कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चार जना एमालेतिर लागेका) र जनता समाजवादी पार्टी (जसपा) का ३४ (दुई जना निलम्बित) सांसद छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने बित्तिकै ओली अल्पमतमा पर्नेछन् । ओलीलाई सत्ताबाट ओराल्न एमाले बाहेकका तीन दल मिले मात्रै संभव छ । तर ओली पनि सत्ता टिकाइराख्ने दाउमा छन् । कांग्रेस, जसपा र माओवादीमा पनि एक अर्कामा विश्वासको वाताबरण नबन्दा सरकार निर्माणमा ढिलाइ भइरहेको छ । विपक्षी दल अलमलमा छन् ।

आ- आफ्नै दाउ !

प्रधानमन्त्री ओली माओवादीले समर्थन फिर्ता लिएमा जसपाको समर्थनमा सरकार बनाउने दाउमा छन्। उनी जसपामा पनि खास गरी पूर्व राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई फकाइरहेका छन्। जसपामा पूर्व संघीय समाजवादी फोरम पक्षका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विपक्षमा छन्। ठाकुर र महतो ओलीकै निरन्तरतामा रहेका छन्।

जेलमा रहेका जसपाका सांसद रेशम चौधरीको रिहाइ लगायतका मागलाई उसले सत्तामा जाने भ-याङका रुपमा मात्रै तेर्साएको छ । जसपाका मागलाई सकारात्मक रुपमा लिएको ओली पक्षधर नेता सुवास नेम्वाङले बताइसकेका छन्।

ओली भरिसक्य सिँङ्गै जसपा नभए उसलाई फुटाएर पूर्व राजपा पक्षधरलाई लिएर सरकार जोगाउने बाटोमा छन् । उता नेपाली कांग्रेस सत्ताका लागि हतार नगर्ने तर माओवादी र जसपाले विश्वसनीय वातावरण बनाएमा सरकारमा जाने दाउमा छ ।

कतिपयले त कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच भित्रभित्रै सहमति भएका कारण देवाले ओलीको विरोध नगरेका  हुन् भन्ने गरेका छन् । तर कतिपयले जसपाको ढुलमुले नीतिले कांग्रेस विश्वस्त हुन नसकेकै कारण देउवाले हतार नगरेका हुन् भन्ने पनि गरेका छन्।

माओवादी पनि जसपासँग विश्वस्त हुन सकिरहेको छैन । भोलि जसपा जतापनि लाग्न सक्ने कांग्रेस माओवादीको विश्लेषण छ । कांग्रेस, माओवादी र जसपाबीच सहमति नबनेसम्म ओलीको विकल्पमा सरकार बन्ने अवस्था छैन । तीनै दलबीच अविश्वास रहेका कारण ओलीको सत्ता लम्बिँदै छ ।

तीन दलीय गठबन्धन बलियो नभएसम्म माओवादी ओलीलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैन ।

भरसक ओली पनि विपक्षीको गठबन्धन नहोस् र प्रतिनिधि सभा विघटन गर्ने अवस्था फेरी आओस् भन्ने पक्षमा छन्।

विपक्षी तीन दल पनि ओलीको विकल्पमा सरकार निर्माण गर्न एक अर्कालाइ देखाउँदै आएका छन्।

जोखिम नमोल्ने पक्षमा देउवा, तर आफ्नैको आशंका 
कांग्रेस सभापति देउवा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रका कारण पनि तत्काल जोखिम मोल्ने पक्षमा छैनन् । भोलि सत्तामा पुगेपनि शक्तिकेन्द्रले सत्तामा चलखेल बढाउने र अस्थिरता निम्त्याउने बुझाइमा रहेको एक कांग्रेस नेताको भनाई छ । तर कांग्रेसका कतिपय नेताहरु भने ओली र देउवाबीच केही लेनदेन भएको र त्यसका कारण पनि सत्तामा जान देउवा नहतारिएको आशंका गरेका छन् । ओली निरंकुशता तर्फ अघि बढेकाले भोली निर्वाचन नै गर्नुपरेमा पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भनाई छ ।

चतुर खेलाडी प्रधानमन्त्री ओली !
भनिन्छ, राजनीतिमा असंभव केही हुन्न । ओली यसैलाई बुझेर आफूले प्रतिनिधि सभा विघटन गर्दा चर्काे विरोधी दल बनेको र सडकमा उत्रेको जसपासँग हातेमालो गर्न अघि बढेका छन् । उनले सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको महत्व बुझेर उसँग भित्रभित्रै छलफल गरिरहेका छन् । ओली सत्ता जोगाउने र प्रतिपक्षबीच एकले अर्काेलाई विश्वास गर्ने वातावरण नहुँदा राजनीतिक खेल कता जाने हो भन्न सक्ने अवस्था छैन भने सत्ता समीकरणमा पनि अलमल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?