प्रधानमन्त्री ओली थप शक्तिशाली

काठमाडौं- नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकको निर्णयले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ । आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न महत्वपूर्ण अख्तियारी प्रदान गरेसँगै अध्यक्ष एवम् प्रधानमन्त्री ओली थप शक्तिशाली बनेका हुन् ।

बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक साँसदहरुको बन्द सुचिमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन गरेको छ । पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । यस्तै अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिईएको छ।

बैठकले माधवकुमार नेपाल सहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । उनीहरुलाई पार्टी हित विरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले ०७८ मंसिर २ देखि ६ गतेसम्म नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले विद्यमान २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

जस  अनुसार आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली  र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।  यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न  संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?