सत्ताको साँचो जसपाको हातमा, कुन नेता कसको साथमा ? (भिडियो रिपोर्ट)

काठमाडौं – सत्ता समीकरणको साँचो अहिले जनता समाजवादी पार्टी (जसपा) को हातमा पुगेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकतामा प्रश्न उठाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन्।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा पर्नेछन् उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार हो ।

ओलीलाई सत्ताबाट विस्थापित गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सरकार बन्न पनि सक्छ । यो अवस्थामा जसपा, सरकार र प्रतिपक्ष दलको तानातानमा परेको छ । नेकपा एमालेका संसदमा १ सय २१ जना सांसद छन्। सरकार बनाउनका लागि १ सय ३८ सांसद चाहिन्छ। माओवादीले समर्थन फिर्ता लिएमा ओलीलाई सरकार टिकाइरहन १७ जना सांसद आवश्यक हुन्छ । त्यस्तै संसदमा कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट छ । यीमध्ये कांग्रेसका २ र जनता समाजवादी पार्टीका दुई सांसद निलम्बित छन् । त्यो बाहेक र राष्ट्रिय जनमोर्चाको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल मजदुर किसान पार्टीको १ सिट छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीलाई पदमा रहिरहन १७ सांसद अपुग हुँदा, यता कांग्रेस माओवादी र जसपा मिल्यो भने सांसद संख्या १ सय ५० पुग्छ । यी तीन दलको संख्याले प्रधानमन्त्री हटाउन र नयाँ बनाउन पर्याप्त हुन्छ । तर यो समिकरण यति सजिलै बनिहाल्ने सम्भावना देखिएको छैन ।

यसैमा जसपाको हातमा सत्ता समीकरणको साँचो रहेको छ । त्यसकारण जसमा सरकार र प्रतिपक्षी दलको तानातानमा छ । माओवादी केन्द्र जसरी पनि ओलीको सत्ताबाट बहिर्गमन चाहिरहेको छ । जसपा जता गयो उतै बहुमत पुग्ने अवस्था छ । तर जसपामा ओलीलाइ समर्थन गर्नुपर्छ भन्ने एउटा पक्ष छ भने अर्को पक्ष कुनै पनि हालतमा ओलीलाइ समर्थन नगरी कांग्रेस र माओवादीसंग मिल्नुपर्छ भन्ने पक्षमा छ । जसका कारण जसपामा आन्तरिक विबाद छ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?