चितवन । चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरु भएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका ६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको ५ लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको र सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ ।
अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा. शिव रिजालले जानकारी दिए । उनले भने, अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ । केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ ।
सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ ।
रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उनले बताए । उनले भने मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।
नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको भन्दै उनले यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिए । मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया