रोजगारको लागि भारत पुगेका नेपालीहरु धमाधम स्वदेश फर्किदै

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढे्पछि नेपालीहरु स्वदेश फर्किन थालेका छन् । यस्तै सुर्खेतको गुरुवाकोट वडा नम्बर ११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे।

‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर फर्किएका हौं। गत वर्षजस्तो सास्ती नहोस् भनेर यसपालि लकडाउन नहुँदै फर्किएको’, विकले भने। उनी गत वर्ष चैतमा लकडाउनका बेला एक महिनाभन्दा बढी भारतको पलियामा रोकिएका थिए।

त्यतिबेला भारतको पलियामा एक महिना रोकिनुपर्‍यो। परिवारसँग कुराकानी पनि हुन सकेन। खानपिनको व्यवस्था पनि राम्रो भएन’, उनले भने, ‘मरे पनि घरमै मरुँला भनेर आएका हामीलाई अर्काको देशमा जेल हालेजस्तै भयो। त्यसैले यसपालि हल्ला चल्नेबित्तिकै घर फर्केका हौं।

उनले घरमा खेतीपाती भित्र्याउने समय भएको, चैते दशैं पनि आएकाले परिवारले घर आउन भनेपछि फर्किएको बताए। ‘लकडाउन भएन भने पछि एक÷दुई महिना खेतीपातीको काम गरेर फेरि गइन्छ । यस्तै नुवाकोटको तारकेश्वर–२ का रमेश परियार पनि शुक्रबार गौरीफन्टा नाकाबाटै घर फर्किए। परियार महाराष्ट्रको पुनामा होटलमा कुक काम गर्थे।

त्यहाँ लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए। भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन्। कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ।

कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्। यो खबर अन्नपुर्ण पोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?