नुवाकोटमा भारतले बनाइदियो ४ वटा विद्यालय

भारत सरकारले नुवाकोट जिल्लाका विभिन्न ४ वटा विद्यालय निर्माण गरेको छ । श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ती विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका यी चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैयाँ रहेको दूतावासले जनाएको छ । यी नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने विश्वास दूतावासले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?