काठमाडौं– भारतीय जेलमा ४० वर्षसम्म बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिवारमात्रै छुट्ने भएका छन्।
भारतको पश्चिम बंगालस्थित कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले तत्काल उनलाई रिहा गर्न बुधवार साँझ आदेश दिएको हो । अदालतले दीपकलाई भाइ प्रकाश तिम्सिनाको साथमा जिम्मा लगाउने आदेश दिएको थियो।
प्रकाश शुक्रवार कोलकाता पुगेर सवै कागजी प्रक्रिया पुरा गरेपनि समय अभावका कारण दुर्गाप्रसाद छुट्न सकेनन् । उनी शनिवार बिहान छुट्ने छन् । दुर्गाप्रसादलाई हरेक ६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । त्यसपछि महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने बताइएको छ ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङका एक चिया बगानमा काम गरिरहेका बेला उनलाई हत्या आरोपमा पक्राउ गरिएको थियो । तर हत्याको पुष्टि भने हुन नसकेको बताइएको छ ।
त्यतिबेला दार्जिलिङमा आन्दोलन चर्किएका बेला उनी आन्दोलनमा मारिएको हुनसक्ने परिवारले आशंका गरेको थियो । दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । दुर्गाप्रसादको पक्षमा बोल्ने कोही नभएपछि उनलाई बिभिन्न जेलमा घुमाइएको थियो ।
कोलकाताको दमदम कारागारमासंगै रहेका राधेश्याम दास नामक कैदीका कारण दुर्गाप्रसाद परिवारको सम्पर्कमा आउन सकेका हुन । दुर्गाप्रसादका भाइ प्रकाशसहितले गत फागुन १० गते उनलाई कारागारमा गएर भेटेका थिए । नाता प्रमाणित भएपछि उनलाई कारागारले भेट्न दिएको थियो । त्यसपछि जेलबाट छुटाउने प्रक्रिया शुरु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया