एमालेमा रडाको : तीन नेता तीनतिर, कसरी फुक्ला गाँठो ? (भिडियो रिपोर्ट)

लोकपथ
0
Shares

रामजी बलामी/काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी- केन्द्र) लाई ब्यूँताइदिएसँगै शुरु भएको नेकपा एमालेभित्रको रडाको झनै उग्र बन्दै गइरहेको छ । गत फागुन २३ अगाडि तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र मिलेर बनेको) मा देखिए जस्तै आन्तरिक द्वन्द्ध यतिवेला नेकपा एमालेमा प्रवेश गरेको हो।

तत्कालीन नेकपामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हातेमालो गरेर आफ्नै पार्टीका अध्यक्षमाथि गालिगलौज र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । ओली एकलौटी रुपमा शक्तिको दुरुपयोग गरेर पार्टी हित विपरित अघि बढेको खनाल  – नेपालको आरोप छ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते आफ्नो पक्षमा आएका माओवादी केन्द्रका २३ जना नेतालाई एकलौटी रुपमा केन्द्रीय सदस्य बनाएका छन् । ओलीले पार्टीमा सहमतिको सिद्धान्त विपरित एकतर्फी रुपमा २३ जनालाई जिम्मेवारी दिएपछि खनाल- नेपाल समूह थप बिच्किएका छन् । ओलीको रवैया देखेर खनाल–नेपाल समूह समानान्तर कमिटी गठन गरेर अघि बढ्न लागेको छ।

पार्टीमा सहमतिका लागि फागुन २८ गतेको निर्णयहरु रद्द गर्नुपर्ने खनाल नेपालको माग छ । तर ओलीले त्यसलाई इन्कार गरेका छन् । नेताहरुबीच मन र मत मिलाउन चैत २ गते पार्टी कार्यालय धुम्बाराहिमा ओली र नेपाल पक्षको बैठक बसेको थियो । तर त्यसमा सहमति जुट्न सकेन। उक्त बैठकमा खनाल र उपाध्यक्ष वामदेव गौतम भने सहभागि बनेनन् । ओली र नेपाल पक्ष आ–आफ्नै अडानमा रहे । ओलीले एकलौटी रुपमा पेलेर जान थालेपछि असन्तुष्ट नेपाल पक्ष ओलीसँग नझुक्ने बताइरहेको छ ।

धुम्बाराहि बैठक सकिएपछि वरिष्ठ नेता नेपालले आफूले पुरानै अवस्थामा फर्किऔँ भनेर गरेको प्रस्ताव अध्यक्ष ओलीले स्वीकार नगर्दा बैठकको शुरुवात मिठो भएपनि अन्त्य टर्रो भएको प्रतिक्रिया दिएका थिए । उता महासचिव समेत रहेका ओली पक्षका नेता ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा एकमत रहेपनि गुटवन्दीको विषय असान्दर्भिक भएको टिप्पणी गरेका थिए ।

तीन नेता तीनतिर : 

एमालेका नेताहरु पार्टी ब्यूँतिदापनि एकजुट हुन सकेका छैनन् । एमालेमा अहिले तीन गुट क्रियाशिल छन् । संस्थापक गुटको नेतृत्व पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गरिरहेका छन् । असन्तुष्ट गुटको नेतृत्व वरिष्ठ नेता खनाल र नेता नेपालले गरिरहेका छन् । यस्तै एकता अभियानका नाममा उपाध्यक्ष वामदेव गौतमले अर्को गुटको नेतृत्व गरिरहेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष : 
प्रधानमन्त्री ओलीले गत फागुन २८ गते केन्द्रीय समितिको बैठक बोलाएर एमाले नेताहरुको पद मात्रै हेरफेर गरेनन् माओवादीबाट आएका २३ जना नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी समेत सुम्पिए ।

प्रधानमन्त्री ओलीले चैत ३ गते बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

तर खनाल – नेपाल पक्षले चैत ४ र ५ गते दुइदिने राष्ट्रिय कार्यकर्ता भेला गरे । खनाल–नेपाल पक्षले ओलीले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गरेका छन् । ललितपुरको सानेपामा खनाल–नेपाल समूहको राष्ट्रिय भेला चलिरहँदा बिहिवार प्रधानमन्त्री ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाए ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको संसदीय दलको बोर्ड गठन ग-यो । बैठकमा उपस्थित नभएपनि वरिष्ठ नेताद्वय नेपाल र खनालको नामपनि सदस्यमा समावेश गरिएको छ । बैठकमार्फत् संसदीय दलको विधान संशोधन प्रक्रिया समेत अघि बढाइएको छ । त्यसका लागि एमाले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राईसहितका तीन सदस्यीय कार्यदल समेत बनाइएको छ ।

यस्तैगरी प्रधानमन्त्री ओलीले यही चैत ७ गते संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । सो बैठकमा आउन उनले सार्वजनिक कार्यक्रममार्फत असन्तुष्ट पक्षलाई निम्तो समेत दिएका छन् ।

खनाल नेपाल पक्ष : 
अदालतको फैसला लगतै खनाल–नेपाल समूह अहिले पार्टी अध्यक्ष ओलीविरुद्ध कडा रुपमा उत्रिएका छन् । ओलीले चैत २८ को निर्णय नसच्याउने छनक दिएपछि विच्किएका खनाल नेपाल समूहले पूर्वनिर्धारित राष्ट्रिय भेलाको कार्यक्रमलाई निरन्तरता दियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ट नेता झलनाथ खनालले अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रुपले अगाडी बढ्ने पहल कदमी लिनुपर्नेम प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधान विपरित निर्णय गरी पार्टीलाई बिर्सजनमा लाने दुष्प्रयास गरेको बताएका छन् ।

नेकपालाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भएपनि एकतालाई भंग गर्ने काम गरेको उनको आरोप छ । यता नेता नेपालले पार्टी भित्रको विवादको जड अध्यक्ष ओली भएको दाबी गरेका छन् । ओलिको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवाद उत्पन्न भएको उनको भनाइ छ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् संगठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरुप चलाउनुपर्ने नेता नेपालको जोड छ ।

कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने, नवौँ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने, २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुर्नस्थापना गर्ने, ओलीले राजीनामा गर्नुपर्ने, गुटका निर्णयहरु खारेज गर्ने लगायतका बुँदाहरु समेटिएका छन्।

वामपन्थी एकतामा वामदेव : 
झण्डै पानी बाराबारको अवस्थामा रहेका प्रधानमन्त्री ओली र नेता नेपाल पक्षलाई मिलाउने अभियानमा छन् एमाले उपाध्यक्ष गौतम । तत्कालीन नेकपामा विवाद बढिरहँदा कतैतिर नलागी पार्टी एकता अभियान चलाएका गौतम पार्टी एकताका साथै वामपंथी एकता हुनुपर्ने पक्षमा छन् ।

गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै आएका छन् ।

खोई त अनुशासन ? 
एमालेका नेता कार्यकर्ताहरु अहिले एक अर्कामा आरोप प्रत्यारोपमा मात्रै लागेका छैनन् व्यक्तिगत आक्षेप र कटाक्षमा उर्लिएका छन् । दिनँहुजसो भईरहेका दुबै पक्षका गुटगत भेला र बैठकबाट एकअर्कालाई धम्काउने क्रियाकलापहरु सामान्य झैँ बन्न थालेको छ ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते आफ्नो पक्षको केन्द्रीय कमिटी बैठकमार्फत् नेपाल समूहलाई जिम्मेवारीमुक्त गरे ।

ओलीले खनाल – नेपाल पक्षलाई पेलेर मनलाग्दी रुपमा एकतर्फी अघि बढ्न खोज्दा नेकपामा अनुशासनको पालना हुन सकेको छैन । पछिल्लो समय एमालेमा देखिएको रडाको दुनियाँका लागि रमिता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?