नेपाल-खनाल पक्षको राष्ट्रिय महिला भेला आजदेखि शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आजदेखि अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाएको छ ।

एमाले नेपाल-खनाल पक्षले शुक्रवार (आज) को लागि महिला संघको राष्ट्रिय भेला बोलाएको हो ।

बिहान ११ बजे कालीमाटी ब्यांक्वेटमा शुरु हुन लागेको भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काइदिएसँगै एमाले ओली र नेपाल(खनाल पक्षमा विभाजन भएको छ । दुवै पक्षले आ-आफ्नो तरिकाले कामहरु गरिरहेका छन् ।

यसअघि नेपाल-खनाल पक्षले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । त्यसको लगत्तै नेपाल(खनाल पक्षले जनसंगठनहरूको समानान्तर सभाहरु शुरु गर्न लागेको छ ।

उता प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते भेला बोलाई विभिन्न ठाउँमा मनोनयन गरेको छ ।

आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

त्यस्तै नेपाल-खनाल पक्षले भोलिको लागि युवा संघको भेला र चैत १० गतेका लागि विद्यार्थीको राष्ट्रिय भेला बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?