चितवन- चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिंदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिंदै छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ । गणनामा ४० वटा हात्ती प्रयोग गरिंदै छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ । कोशीमा दरबन्दी रहेर यहां रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ ।
बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइंदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन् । गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइंदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरुको बासस्थानको व्यवस्थापन लगायतका तयारी भइरहेको छ । निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुंदैछ । विभागका दुई कर्मचारी तयारीका लागि यहां आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरणमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ । सौराहामा कार्यक्रमको उद्घाटन गरेर प्रतापपुरबाट गणना थाल्ने वा प्रतापपुरमा नै उद्घाटन गर्ने भन्ने विषयको टुङ्गो भने लागिनसकेको उहांले बताउनुभयो । एक÷दुई दिनमा नै विभागको उच्चस्तरको टोलीसमेत गणना तयारीका लागि चितवन आउंदैछ ।
चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो ।सरकारले गत वर्ष गैँडा गणनाका लागि एक करोड १० लाख विनियोजन गरेको थियो । गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताबाट २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा गैँडा गणना गरिंदै छ ।हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६४५ पुगेको अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया