पुन: बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

लोकपथ
0
Shares

बर्दिया- बाघको आक्रमणबाट पुनः एकजनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए ।

खोज्दै जाँदा रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ । निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका अधिकारीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?