काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक शुरु भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।
तर, बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी भएका छैनन् ।
आजको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी रहेका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो बैठकमा सहभागी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद् प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी बैठकमा सहभागिता रहेको छ ।
त्यस्तै एमालेबाट महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादल रहेका छन् । त्यस्तै कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा। शशांक कोइराला सहभागी रहेको स्रोतले जनाएको छ ।
खनाल–नेपालले बुधबारका लागि तय भएको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताएका छन् भने भट्टराई चाहिँ पार्टीबाट अन्य नेतालाई पठाएर आफू नगएका हुन् ।
नेपालमा राजनीतिक संक्रमणकाबीच सत्ता समीकरणको खेल चलिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया