काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि (बुधवार) गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आज (मंगलवार) ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीलाई देशभरीबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरि सम्बोधन गर्न आग्रह गरेका हुन् ।
उनले भने “यो भेला तपाईकै हो । तपाई नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईले खटाउनै पर्दैन नजर लगाउन । आफै आउनुहोस् । यो भेलामा को को आएका छन् देशभरीबाट तपाई नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरीबाट आएका तपाईकै कार्यकर्ता हुन् । तपाईकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । ”
प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा भोलीको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिएका थिए ।नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गरे ।
उनले भने “यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुदैन । प्रधानमन्त्री जी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई म यति मात्रै भन्न चाहन्छु , आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ । ”
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले दृढताका साथ राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका सबैलाई आग्रह र अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया