माओवादी केन्द्रले भन्यो- ‘हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको छ ।

मंगलवार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका हुन् ।

बैठकपछि बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले भने- ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ । हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजिनामा दिनुस् । किनभने तपाईले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ । ध्यानाकर्षण गराएका छौँ । हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौं ।’

त्यस्तै आजको संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलवार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पुर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेका छ ।

त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको उनको भनाई छ । उनले भने– ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?