काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वारपारको लडाईँ चल्यो ।
नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काँध मिलाएर ओलीको कदमविरुद्ध नेपाल बन्ददेखि शक्ति प्रदर्शनसम्मका संघर्ष गरे । ओली समूहले पनि जनसभाका नाममा देशभर शक्तिप्रदर्शन ग-यो । ओली र नेपालबीच वैचारिक युद्धमात्रै चलेन व्यक्तिगत रुपमै आरोप प्रत्यारोप र गालीगलौजहरु व्यक्त भए । प्रचण्ड– माधव समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै निष्काशन ग-यो । प्रचण्ड –माधव समूहको यो कदमप्रति ओलीको ठूलो चित्त दुखाइ छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले अधिकांश अन्तर्वार्ता र सम्बोधनहरुमा यो विषय उठान गर्दै आएका छन् ।
प्रधानमन्त्री ओली समूहले प्रचण्डको कार्यकारी पद खोसेपनि माधव नेपाललाई भने कारवाही गरेन । त्यसो त ओलीले प्रचण्ड–माधव समूहलाई सच्चिएर पार्टीमा आउन पटक पटक आग्रह गर्दै आए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेललाई दिने फैसला गर्दै पूर्वएमाले र पूर्व माओवादी ब्यूँताइदिएपछि राजनीतिक कोर्स एकाएक बदलियो । यो फैसलाले प्रधानमन्त्री ओली समूहलाई राजनीतिकरुपमा सफलता मिल्यो भने माधव समूहलाई अलमलको अवस्थामा पु¥याई दियो । यो फैसलासँगै प्रचण्ड– माधव समूहलाई राजनीतिक रुपमा विभाजित बनाइदियो । माधव समूह पनि सर्वोच्चको फैसलासंगै अब एमालेमै गएर ओलीविरुद्ध संघर्ष गर्ने ध्येयका साथ प्रचण्डसँग कोटेश्वरको पेरिसडाडाबाट बिदा भए ।
प्रचण्डसँग बिदाभएको माधव समूह १० दिनपछि पार्टी कार्यालय धुम्वाराही पुगे । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएपनि माधव समूहले बालुवाटार नजाने भनेपटि ओली पनि धुमवाराही जान सहमत भए । गत फागुन २८गते प्रधानमन्त्री ओलीले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक मार्फत माधव पक्षका नेताहरुलाई हटाएर एमालेमा गएका २३ जना माओवादी केन्द्रका नेताहरुलाई पदीय जिम्मेवारी दिए ।
ओलीको यो एक्सनको मारमा परे – माधव समूह ।
त्यसो त माधव समूहले पनि २९ फागुनमा सामानान्तर कमिटी गठन गर्दै ओलीलाई चुनौतिदिए । यिनै अन्यौलताकाबीच पार्टी अध्यक्ष ओलीले एक औपचारिक कार्यक्रममा सम्बोधन गर्दै चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागिहुन सबैलाई निम्तो दिए।प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित नभए विधानवमोजिम हुने भन्दै घुमाउरो शैलीले चेतावनी समेत दिए । एकअर्कालाई सिध्याउन करीव ३ महिनासम्म भएभरको बल लगाएका अध्यक्षओली र माधव समूह सोमवार भने एउटै बैठकमा सरिक भए ।
यतिवेला अध्यक्ष ओली र नेता नेपाल पक्षको बैठकको फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । बैठकको उद्धेश्य र बैठकमा देखिएको दृश्यले विशेषतःतीन संकेत दिएको छ ।
१. पार्टीमै संघर्ष :
माओवादी अध्यक्ष प्रचण्डसँग बिदाइ हुँदै गर्दा माधव समूहले अब ओलीसँगै संघर्ष गर्ने बताएको थियो । तर, अध्यक्ष ओलीले २८ फागुनमा माधव समूहमाथि एक्सन लिएपछि एमालेभित्र ठूलो रडाको मच्चियो । माओवादी अध्यक्ष प्रचण्डसँगै मिल्न जानेदेखि पार्टी फुटाउने सम्मका अभिव्यक्ति र आंकलनहरु सार्वजनिक भए । तर, सोमबार एक्कासी पार्टी कार्यालय धुम्वाराहीमा पार्टीको बैठक बस्यो । यो बैठकका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता घनश्याम भूसालले भूमिका खेलेका हुन् ।
ओलीले यो बैठक आफ्नो निवास बालुवाटारमै राख्ने कोशिस गरेका थिए । तर, माधव समूहले नैतिकताको प्रसंग उठाएपछि ओली लचक भएका हुन् । अध्यक्ष ओलीसँग बैठक बस्न राजी हुनुले माधव समूहले पार्टीमै संघर्ष गर्न चाहेको स्पष्ट हुन्छ । उता प्रधानमन्त्री ओलीलाई पार्टी फुट्ने र सत्ता समीकरणमा असर पर्ने ठूलो डर छ ।
ओलीमाथि अभिभावकको भूमिका निभाउँदै पार्टी जोगाउनुपर्ने दबाब छ । यसकारण पनि सोमबारको बैठक सम्भव भएको हो । यसले पार्टी एकताका लागि एउटा सन्देश दिएको छ ।
२. समान हैसियत :
वितेको तीन महिनामा ‘मान, सम्मान, अपमान’ शब्द निकै भाइरल भयो । प्रधानमन्त्री ओलीले माधव नेपाललाई कटाक्ष गर्दै मान सम्मान खोज्दै द्धीतिय अध्यक्ष बन्न गएको बताएका थिए । उता नेपालले पनि ओलीले आफूलाई जहिल्यै अपमान गर्ने गरेको बताएका थिए ।
तर सोमबारको बैठकले प्रधानमन्त्री ओली र नेता नेपालको हैसियत समान भएको सन्देश दिएको छ । वैठकको बसाइ व्यवस्थापनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेपालपक्षलाई पुरानै मर्यादाक्रम अनुसार सम्मानदिएको स्पष्ट देखिन्छ ।
यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि विशेष कुर्सी–टेबुलको प्रबन्ध हुने गरेको भएपनि सोमबारको बैठकमा भने कुनै विशेष आसनको व्यवस्था गरिएको थिएन । कुर्सी र टेबल सबै उस्तै थिए ।
अब पार्टी संस्थापनसँग वार्ता गर्न माधव नेपालसहित उनको समूहका ६ जना नेता छन् । संस्थापन पक्षबाट भने पाँच जना रहेका छन् ।
बैठकको अगाडि अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । त्यसपछि उप–महासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त बसेका थिए ।
३. झलनाथ खनाल अनुपस्थित :
सोमबारको बैठकमा बरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन् । खनाललेआफू धुम्बाराही वैठकमा नजानुको कारणभने खुलाएका छैनन् । तर ओलीसँग उनको चरम असन्तुष्टी रहेको कुरा बुझ्न भने गाह्रो छैन । एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपीशर्मा ओलीसँग भएको छलफलमा कुनै सहमति नबनेको बताएका छन्।
मूल एजेण्डाः ओलीको एक्सन फिर्ता :
तीन महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ । वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।
वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको बताएका छन् । महासचिव ईश्वर पोख्रेलले भने एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए ।
एमालेभित्रको यो लडाँइ वैचारिक मतभेद मात्रै नभएर प्रतिष्ठाको लडाँइ समेत बन्न पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया