म्यानमारमा थप २० जनाको मृत्यु, मारिनेको संख्या १८० पुग्यो

काठमाडौं । म्यानमारमा सोमवार थप २० जना प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले चलाएको टियरगस, रबर बुलेटहरू र गोली लागेर हिजो (सोमवार) थप २० जना प्रदर्शनकारीको मृत्यु भएको एसीस्टेन्स् एसोसीएसन फर पोलीटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

म्यानमारमा आइतवारको हिंसात्मक घटनामा ५० जना प्रदर्शनकारीको मृत्युपछि सेनाले त्यहाँका धेरै जिल्लामा मार्शल कानून लागू गरेको छ । मार्शल कानून लागू गरिएका ठाँउमा प्रदर्शनकारीहरुका विरूद्ध सैन्य अदालतमा मुद्दा दर्ता हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

म्यानमारमा सैन्य ‘कू’ लागू भएयता गत फेब्रुअरीपछि आइतवार एकै दिन सबै भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रायको मृत्यु यांगुन शहरमा भएको छ । म्यानमारमा हालसम्म १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको छ । हिजो सोमवारसम्म म्यानमारमा मृत्युहुनेको संख्या १८० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा भएको आक्रमणपछि सोमवार यांगुन र अन्य धेरै क्षेत्रमा मार्शल कानून लागू गरिएको हो । प्रदर्शनकारीहरूले चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्र संघले मार्शल कानून लागू गरेर सैनिक सरकारले आम नागरिकमाथि जबरजस्ती कारबाही गरिरहेको र त्यस्तो काम बन्द गर्न आह्वान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?