काठमाडौं– अबदेखि रासायनिक मल नेपालमै उत्पादन हुने भएको छ।
खेती लगाउने बेलामा किसानलाई मल नपाएर अब हैरानी खेप्नु नपर्ने भएको छ । सरकारले रसायनिक मल कारखाना स्थापना तथा संचालन गर्न सकिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन समितिले नेपालमै रासायनिक मल उत्पादन गर्न सकिने कारखाना तथा संचालन गर्न सकिने सहितको प्रतिवेदन पेश गरेको छ ।
सो प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न सके मल आपूर्तिको दिगो समाधान हुने तथा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि भइ मुलुकको आर्थिक विकासमा योगदान पुग्ने पनि उल्लेख छ । ‘सुरुमा पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ ।’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै,सो प्रतिवेदनले मल कारखाना स्थापना गर्न पूँजीको व्यवस्थापन, लगानीकर्तालाई आकर्षित गर्ने, कारखाना स्थापनाका लागि उपयुक्त स्थानको छनौट, लगानी र पूँजी संरचना निर्माण लगायतका विषयलाई चुनौतीका रुपमा उल्लेख गरेको छ ।
त्यस्तै विश्वव्यापी रुपमा रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्याँस, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको मध्ये तत्काल नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्दा सरकारले उपलब्ध गराउनु पर्ने अनुदान रकम बचत हुन सक्ने निष्कर्ष सो प्रतिवेनले निकालेको छ ।
कृषकहरुलाई रासायनिक मल खरिदमा अनुदान दिन सरकारले चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै,समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना गर्न १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना गर्न १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । यस्तो कारखाना सार्वजनिक निजी साझेदारी मोडालिटीमा स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने सुझाव सो प्रतिवेदनमा दिइएको छ।
यस्तो कारखानाको स्थापनाले रासायनिक मल विदेशबाट आयात गर्नु पर्ने बाध्यताको अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने, कृषकहरुले समयमा मल प्राप्त गर्न सक्ने प्रतिवेदनमा भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया